दुई सडकलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न सिफारिस गर्ने कर्णाली सरकारको निर्णय


सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले कर्णालीका दुई सडकलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारको मंगलबार सुर्खेतमा बसेको बैठकले कालीकोटको महाबै गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई प्रादेशिक प्राथमिकताको आयोजनामा समावेश गर्दै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले जाजरकोटको वडावन–सानाखोला सडकलाई पनि प्रादेशिक प्राथमिकता आयोजनामा राखी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्न आयोगमा सिफारिस गर्ने निर्णय भएको छ ।
यस्तै, सवारी तथा यातायात व्यवस्थासम्बन्धी नयाँ नियमावली स्वीकृत गरेको छ । बैठकले ‘कर्णाली प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८२’ स्वीकृत गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार बैठकले प्रदेशस्तरका पूर्वाधार आयोजनालाई संघीय तहमा प्राथमिकता दिलाउन सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए ।

