२०८३ साउन २६ , मंगलबार
Sky News Nepal
August 11, 2026

वीरेन्द्रनगरमा निःशुल्क बहृत योग शिविर हुँदै



सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निःशुल्क बृहत योग तथा ध्यान शिविर हुने भएको छ ।

महिला पतञ्जलि योग समिति सुर्खेत, पतञ्जलि योग समिति सुर्खेत र युवा नेपाल समिति सुर्खेतद्वारा वीरेन्द्रनगरको घण्टाघर खुला मञ्चमा बैशाख १२ गतेदेखि १७ गतेसम्म योग शिविर आयोजना गर्न लागिएको हो । आयोजकका अनुसार योग शिविरलाई सभ्य र भव्य बनाउन आवश्यक सम्पूर्ण तयारीहरु पुरा भईसकेको बताईएको छ ।

मानसिक तथा नसर्ने रोग न्यूनीकरण, रोकथाम र तनाव व्यवस्थापनका लागि योग शिविर आयोजना गरिएको महिला पतञ्जलि योग समिति सुर्खेतका अध्यक्ष  गिता ओलीले बताईन् । उनले दैनिक बिहान ५ बजेदेखि ७ बजेसम्म हुने योग शिविरको लाभ उठाउन सम्पूर्ण सञ्चारकर्मी, जनप्रतिनिधि, सामाजिक अभियन्ता, शिक्षक, बुद्धिजीवी एवं सहृदयी महानुभावलाई आग्रह गरिन् ।

‘अहिलेको व्यस्त र भागदौडपूर्ण दैनिकी तथा एकांकी भएका मानिसका लागि तनाव व्यवस्थापनमा योग शिविरबाट स्वास्थ्य लाभ पुग्ने अपेक्षा गरेका छौं,’ उनले भनिन्, ‘योग ध्यानले सबल मानसिक स्वास्थ्यसँगै उच्च रक्तचाप, थाइराइड, कोलेस्ट्रोल, ट्राइग्लाइसेराइडलगायत खराब चिल्लो पदार्थको मात्रा रगतमा आवश्यकताभन्दा धेरै भएर मुटुरोगको जोखिम घटाउन सहयोग पुग्नेछ ।’

उनले वीरेन्द्रनगरलाई योगमय बनाएर यहाँका नागरिकलाई सवल, सक्षम र प्रतिस्पर्धी बनाउँदै स्वास्थ्यतर्फ सामूहिक जागरण ल्याउनु नै योग शिविरको मुख्य उद्देश्य रहेको जनाईन् । योग, ध्यान र सकारात्मक जीवनशैलीका माध्यमबाट शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको शिविर अवधिभर आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका विशेषज्ञ चिकित्सकहरुले निःशुल्क स्वास्थ्य परीक्षण र परामर्श सेवासमेत प्रदान गरिने पतञ्जलि योग समिति सुर्खेतका अध्यक्ष शेरबहादुर खड्काले जानकारी दिए ।

‘स्वास्थ्यप्रति बढ्दो चिन्ता र व्यस्त जीवनशैलीबीच, यस्तो निःशुल्क शिविरले समुदायमा सकारात्मक ऊर्जा भर्ने विश्वास छ,’ उनले भने, ‘योगमार्फत रोगबाट टाढा रही सन्तुलित र सुखी जीवन जिउन सकिनेछ ।’ उनले दैनिक एक हजार बढी सहभागी हुने अपेक्षा गरिएको शिविरमा प्रसिद्ध आध्यात्मिक तथा योग गुरु साध्वी देवादितिले प्रशिक्षण दिने कार्यक्रम रहेको बताए ।

‘गरौं योग, रहौं निरोग’ नारासहित सबैका लागि खुला र पूर्ण निःशुल्क योग शिविर मार्फत ‘आफू स्वस्थ भए घर स्वस्थ रहन्छ, घर स्वस्थ भए समाज स्वस्थ रहन्छ र समाज स्वस्थ रहे देश स्वस्थ रहन्छ’ भन्ने सन्देश समेत दिन खोजिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८३ वैशाख १० गते बिहीबार
Translate »