टेलिकमद्वारा कर्णालीका तीन सामाुदायिक विद्यालयलाई आईसीटी ल्याव सहयोग

सुर्खेत ।  नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णालीका तीन वटा सामुदायिक विद्यालयलाई सूचना सञ्चार प्रविधि ल्याव (आईसीटि ल्याव) वितरण गरेको छ ।

टेलिकमले जुम्लाको चन्दननाथ नगरपालिका स्थित श्री जनज्योती माध्यमिक विद्यालय, जाजरकोटको छेडा नगरपालिका स्थित श्री बागेश्वरी माध्यमिक विद्यालय र रुकुम पश्चिमको आठवासिकोट नगरपालिका स्थित श्री बाल कल्याण माध्यमिक विद्यालयलाई आईसीटी ल्याव वितरण गरेको हो ।

ती विद्यालयहरुको सूचना सञ्चार प्रविधि ल्याव (आईसीटि ल्याव) सञ्चालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रति विद्यालय १२ थान कम्प्युटर, एउटा प्रिन्टर, युपीएस, १२ वटा ब्याट्री ब्याकअप, एउटा प्रिन्टर, एक थान एपी राउटर, ६ वटा एक्सटेशन कट र १२ वटा एन्टी भाईरस सफ्टवेयर हस्तान्तरण गरिएको नेपाल टेलिकम कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका सहायक व्यापार अधिकृत अनिल ढकालले जानकारी दिए ।

उनले पिछडिया क्षेत्रका सामुदाय विद्यालयमा अध्ययनरत गरिब, जेहन्दार र विद्यार्थीलाई शैक्षिक सामाग्रीसँगै झोला वितरण गरिएको बताए ।

‘आधुनिक जमानामा प्राविधिक शिक्षामा जोड दिनुपर्ने बेलामा टेलिकमले आईसीटि ल्याव सञ्चालनका लागि विद्यालयलाई सहयोग पुग्ने अपेक्षा गरेका छ,’ उनले भने, ‘आईसीटी ल्याव सञ्चालनले विद्यार्थीको ज्ञान सीप र क्षमतामा बृद्धिसँगै सूचना प्रविधिप्रतिको लगाव बढ्ने विश्वास छ ।’

बृद्धाआश्रम तथा अनाथालयलाई लत्ताकपडा र खाद्यान्न वितरण, यात्रु प्रतिक्षालय निर्माण एवं पर्यटकीय क्षेत्रमा सेल्फी स्टेण्ड निर्माणका लागि आवश्यक प्रक्रिया शुरु गरिएको नेपाल टेलिकम कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रशासन तथा व्यापार शाखा प्रमुख रामप्रसाद लिगलले जनाए ।

उनले दैलेखको गुराँसे र सुर्खेतको वीरेन्द्रनगर स्थित मंगलगढी चोकमा यात्रु प्रतिक्षालय निर्माण गरिने बताए । उनका अनुसार सुर्खेतको कटकुवामा सेल्फी स्टेण्ड निर्माण र वीरेन्द्रनगरकै कालिका मन्दिर, कपासेदेखि कटकुवा जाने बाटोमा १० वटा बेन्च निर्माण गर्ने योजना कम्पनीले बनाएको छ ।

Translate »