कर्णाली करिडोरमा स्काभेटर दुर्घटना हुँदा कालिकोटका १८ वर्षीय युवक बेपत्ता


बाजुरा । कर्णाली करिडोर सडकखण्डअन्तर्गत बाजुरा–कालिकोट सीमास्थित लौखूडाँडामा आइतबार बिहान स्काभेटर दुर्घटना हुँदा एक जना युवक बेपत्ता भएका छन् ।
नयाँ सडक निर्माणका क्रममा थुप्रिएको माटो हटाउन जाँदै गरेको स्काभेटर करिब २ सय मिटर तल भीरमा खस्दा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परेका एक्स्काभेटर चालकसहित तीन जना सवार थिए । तीमध्ये चालक र सहचालक सकुशल रहेका छन् भने कालिकोट नरहरीनाथ गाउँपालिका–२ का अन्दाजी १८ वर्षीय महेश रावल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरीका अनुसार प्रदेश ३–०१–००३ क ६३११ नम्बरको स्काभेटर चालक अन्दाजी २५ वर्षीय केशब बिष्टले चलाएका थिए । नयाँ निर्माण भइरहेको लौखु जिरो पोइन्ट–कोल्टी सडकबाट खसेको माटो कर्णाली करिडोरमा थुप्रिएर सडक अवरुद्ध भएको थियो । सोही माटो पन्छाउन जाने क्रममा स्काभेटर दुर्घटनामा परेको हो ।
बेपत्ता रावलको खोजीका लागि नेपाल प्रहरी र नेपाली सेना घटनास्थलमा पुगे पनि भीर अत्यन्तै कठिन र जोखिमपूर्ण भएकाले उद्दार कार्यमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए ।

