विकल्प दिएर मात्र हटाउन सुर्खेतका सुकुम्बासीको माग

सुर्खेत  । सुर्खेतका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले वैकल्पिक व्यवस्थाविना हटाउन खोजिएको भन्दै प्रदर्शनमा उत्रिएका छन् ।

शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा ¥याली प्रर्दशन गर्दै उनीहरुले दीर्घकालीन समाधान नगरी जबरजस्ती हटाउन नहुने उनीहरुको माग छ । ‘सडक संघर्ष’ मा उत्रिएकी राष्ट्रिय भूमि अधिकार मञ्चका केन्द्रीय सदस्य कलावती सुनारले अतिक्रमित सरकारी जग्गा खाली गराउने सरकारी अभियान सकारात्मक भएपनि विकल्प दिएर मात्र हटाउन माग गरिन् ।

विकल्प विना नै देशैभर अतिक्रमित सरकारी जग्गा खाली गराउने सरकारी नीति गलत भएकाले सडकमा उत्रिनु परेको बताउँदै उनले नागरिकलाई घरवारविहीन बनाउने सरकारी नीति कुनैपनि हालतमा सही नहुने बताईन् ।

‘वर्षौंदेखि बसोबास गर्दै आएको ठाउँबाट जबर्जस्ती हटाउनु सरासर गलत हो,’ उनले भनिन्, ‘उचित व्यवस्थापन, लालपुर्जा तथा सुरक्षित बसोबासको ग्यारेन्टी नगरी डोजर प्रयोग गरिए सुकुम्बासी प्रतिकार उत्रिने छन् ।’ उनले सुकुम्बासीका मागलाई सम्बोधन नगरि दवाउन खोजिए चरणबद्ध आन्दोलिनका कार्यक्रम जारी राखिने चेतावनी दिईन् ।

त्यस्तै राष्ट्रिय भूमि अधिकार मञ्च कर्णाली प्रदेशका अध्यक्ष राजेन्द्र शर्माले उचित व्यवस्थापन, लालपुर्जा तथा सुरक्षित बसोबासको व्यवस्था नगरी डोजर प्रयोग गरेर हटाउने कार्य ‘राज्य आतंक’ को संज्ञा दिए । उनले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्याको दीर्घकालीन समाधान खोजिनु पर्नेमा जोड दिए ।

भूमिहिनलाई जवरजस्ती हटाउने सरकारी नीतिले देशैभरका सुकुम्बासीलाई आत्तिनुपर्ने अवस्था सृजना गरेको उनको भनाइ थियो । सुकुम्बासी नेता हरिलाल तिरुवाले भूमिको समस्याको पहिचान र व्यवस्थापन नगरी सरकारले सुकुम्बासीलाई लखेट्ने काम गरिरहेको बताए । उनले नागरिकलाई लखेट्नु भन्दा पहिले भूमिसम्बन्धी समस्याको दिगो समाधान गर्न सरकारलाई सुझाव दिए ।

Translate »