वीरेन्द्रनगरको सौन्दर्यकरणका लागि वृक्षारोपणसँगै विरुवा गोडमेलमा जुट्यो डिभिजन वन कार्यालय

सुर्खेत । डिभिजन वन कार्यालय सुर्खेतले वीरेन्द्रनगरको सौन्दर्यकरणका लागि वृक्षारोपणसँगै विरुवाको संरक्षण तथा गोडमेल अभियानलाई  प्रभावकारी बनाउन लागेको छ ।

कार्यालयले विभिन्न दाता तथा सहयोगी संघसंस्थालाई गुहार्दै वीरेन्द्रनगर सहरलाई हरियाली तथा आकर्षक बनाउनुका साथै वातावरण स्वच्छ राख्न कम्मर कसेर जुटेको पाईएको हो ।

विश्व वातावरण दिवसको अवसर पारेर वन कार्यालयले दिगो हरियाली र सौन्दर्य कायम राख्नका लागि सहयोगी दातासँगै आफुपनि निरन्तरण विरुवा संरक्षणमा जुटेको पाईएको छ ।  वातावरणीय सन्तुलन, हरियाली प्रवर्धन तथा भूक्षय नियन्त्रणका लागि वृक्षारोपण र त्यसपछिको गोडमेल अपरिहार्य देखिएको सरोकारवाला बताउँछन् ।

विश्ववातारण दिवसकै बहाना बनाएर भएपनि विरुवा संरक्षण अभियानले पर्यावरण जोगाउनुका साथै पानीका स्रोतहरू संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको राष्ट्रिय उपभोक्ता मञ्चका कर्णाली प्रदेश सदस्य डिलबहादुर खत्रीले बताए । उनले वृक्षारोपण तथा विरुवा गोडमेल अभियानलाई सफल बनाउन स्थानीय समुदायको पनि उत्तिकै जवाफदेहिता रहेको जनाए ।

‘वीरेन्द्रनगरको हावापानी, माटो सुहाउँदो बोटविरुवाहरु रोप्नुका साथै गोडमेल र संरक्षण आवश्यक देखिन्छ,’ उनले भने, ‘भूगोल सुहाउँदो उपयुक्त विरुवाहरु छनोट गरी संरक्षणमा स्थानीय समुदायको सामूहिक सहभागिता अपरिहार्य देखिन्छ ।’  उनले पछिल्लो समय बोट बाङगो टेरो जस्तो भएपनि फल खाने तर विरुवाको संरक्षण नगर्ने गैरजिम्मेवार नागरिकका कारण राज्यको करोडौंको लगानी खेर गईरहेको बताए ।

वन कार्यालयले वातावरण संरक्षण, सरसफाइ तथा जलवायु परिवर्तन सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले समुदायसँगको प्रत्यक्ष सहभागितामा वन वातावरण तथा जैविक विविधता संरक्षणमा जुटेको डिभिजनल वन अधिकृत राधाकृष्ण दासले बताए ।  उनले वातावरण संरक्षण, जलवायु परिवर्तन न्यूनिकरण तथा प्राकृतिक स्रोतहरुको दिगो उपयोग सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले समुदायको प्रत्यक्ष सहभागितामुलक अभियानलाई प्राथमिकता राखिएको जनाए ।

‘प्रकृति र मानव जीवन एकअर्काका परिपूरक हुन् भन्ने संदेश दिँदै ‘स्वच्छ हावा, शुद्ध पानी, हरियाली वनजङ्गल र जैविक विविधता हाम्रो अस्तित्वका आधार हुन्,’ उनले भने, ‘पछिल्ला वर्षहरुमा जलवायु परिवर्तनको असर, अव्यवस्थित सहरीकरण र बढ्दो वन विनाशले हाम्रो पर्यावरण गम्भीर संकटमा परेको छ ।’

उनले यस्तो विषम परिस्थितिमा वातावरण जोगाउनु हामी सबैको, अझ विशेष गरी भोलिका कर्णधार विद्यार्थीहरुको प्रमुख दायित्व बन्न पुगेको जनाए । ‘भोलिका लागि आज’ भन्ने मान्यतालाई आत्मसात् गर्दै अघि बढ्ने युवापुस्ता नै वातावरण संरक्षणको सच्चा संवाहक रहेको उनको भनाइ थियो ।

वृक्षारोपण अभियान तथा गोडमेलमा विद्यार्थीसँगै स्थानीय नागरिकको समेत प्रत्यक्ष सहभागितालाई प्राथमिकतामा राखेर अभियानलाई निरन्तरता दिने डिभिजनल वन अधिकृत राधाकृष्ण दासको भनाइ थियो ।

Translate »