२०८३ साउन ८ , शुक्रबार
Sky News Nepal
July 25, 2026

कर्णाली प्रदेशमा सत्ता संकट : शनिबार मुख्यमन्त्री कँडेलविरुद्धको अविश्वास प्रस्ताव माथि छलफल हुँदै



सुर्खेत । कर्णाली प्रदेश सभाले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव माथि शनिबार छलफल गर्ने भएको छ ।

एमाले नेतृत्वको प्रदेश सरकारलाई नेपाली काँग्रेसले दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कँडेल विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव माथि सभामा छलफल गर्न लागिएको हो । यद्यपि ! कार्यव्यवस्था परामर्श समितिले उक्त प्रस्तावलाई सभामा पेस गर्नेबारे अझै औपचारिक निर्णय गरिसकेको छैन् ।

सत्ता साझेदार दलहरुबीचको विवाद र मन्त्रीहरुको सामूहिक राजीनामासँगै मुख्यमन्त्री कँडेल नेतृत्वको सरकार गम्भीर राजनीतिक संकटमा परेको छ । सरकार पुनर्गठन र सत्ता हस्तान्तरणको आन्तरिक सहमति कार्यान्वयन नभएको भन्दै सत्ता साझेदार दल नेपाली काँग्रेसले समर्थन फिर्ता लिएको हो ।

गत असार ३२ गते नेपाली काँग्रेसका ५ र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ११ सांसदले मुख्यमन्त्री कँडेलविरुद्ध संयुक्त अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । बिहीबार बसेको नेकपा संसदीय दलको बैठकले अविश्वासको प्रस्तावको पक्षमै मतदान गर्ने निर्णय गरेको छ ।

नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जिसीले प्रदेशसभामा अविश्वास प्रस्तावमाथिको छलफल र मतदानले अब कर्णाली सरकारको टुङ्गो लगाउने बताए । उनले काँग्रेससँगको सहकार्यलाई निरन्तरता दिँदै असार ३२ गते प्रदेशसभा सचिवालयमा दर्ता गराइएको अविश्वासको प्रस्तावलाई पारित गराउने निर्णय भएको जनाए ।

यता काँग्रेस संसदीय दलको बैठकले पनि बुधबार अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । अविश्वासको प्रस्तावमा काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने उल्लेख गरिएको छ । एमालेले भने यसबारे कुनै निर्णय गरेको छैन ।

अविश्वास प्रस्ताव पारित भए मुख्यमन्त्री कँडेल पदमुक्त हुनेछन् र संविधानअनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा काँग्रेसका १४ र नेकपाका १४ र एमालेका १० सांसद छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका एक र एक स्वतन्त्र सांसद छन भने नेकपाले एक सांसदलाई पार्टीबाट कारवाही गरेको छ ।

नेकपाबाट कारवाही गरिएका कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले पनि अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् । केन्द्रमा एमाले–नेकपाबीच सत्ता सहकार्यको सहमति भएपछि कर्णालीको राजनीतिक समीकरण पनि बद्लिन सक्ने आकलन भइरहेका बेला नेकपाको निर्णयले प्रदेशमा तत्काल सत्ता समीकरण परिवर्तन नहुने संकेत दिएको हो ।

बरु काँग्रेससँग सहकार्य गदै एमाले नेतृत्वको सरकार हटाएर नयाँ सरकार गठन गर्ने तयारीमा नेकपा देखिएको छ । प्रदेशसभामा अविश्वास प्रस्तावमाथिको छलफल र मतदानले अब कर्णाली सरकारको टुङ्गो लगाउनेछ ।

प्रदेश सभाले अविश्वासको प्रस्तावमाथि छलफल गर्न शनिबार दिउँसो २ बजे प्रदेशसभा बैठक बोलाएको छ । यसअघि बिहीबारका लागि तय भएको बैठक प्रदेश सभामुख नन्दा गुरुङले विशेष कारण देखाउँदै स्थगित गरेर शनिबारका लागि सारेकी हुन् ।

प्रकाशित मिति : २०८३ साउन ८ गते शुक्रबार
Translate »