

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन् ।
प्रदेश प्रमुख यज्ञराज जोशीले मंगलबार शाहीलाई कर्णाली प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख जोशीले शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।

नेकपा संसदीय दलका नेता समेत रहेका शाहीलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपाली कम्युनिष्ट पार्टी नेकपाका १४ र नेकपा एमालेका १० जना प्रदेश सभा सदस्यले समर्थन गरेका थिए । दुबै दलको निर्णय र बहुमत सदस्यको समर्थनका आधारमा प्रदेश प्रमुख जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवत्ता भिमराज थानीले जानकारी दिए ।
नेकपा र एमालेबीच भएको सत्ता गठबन्धनमा कर्णाली प्रदेशको मुख्यमन्त्री नेकपाले लिने सहमति अनुसार शाही मुख्यमन्त्री बनेका हुन् । यसअघि आजै शाहीले गठबन्धनमा रहेका नेकपा एमालेका १० र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १४ सहित २४ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन आजै दाबी पेस गरेका थिए ।
कर्णालीमा सरकार गठनका लागि २१ जना सांसदको आवश्यकता पर्छ । ४० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १५, नेकपाका १४, एमालेका १० र एक जना राप्रपाका सदस्य छन् । शाही मुगु प्रदेशसभा ‘ख’ बाट निर्वाचित भएका थिए । शाहीले यसअघि कर्णाली सरकारको भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री भएर काम गरिसेका छन् ।










