

नेपालगञ्ज । बाँकेमा सेफ्टी ट्याङ्कीमा फसेका तीन जना कामदारको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ३ शान्ति टोलस्थित दया प्रसाद थारुको डिबिसी भई पिलर उठाएको घरको आँगनमा बनाउँदै गरेको सेफ्टी ट्याङ्कीमा आज बिहान ९ बजेतिर फसेका कोहलपुर वडा नम्बर ३ का अन्दाजी ४२ बर्षीय कालु थारु, अन्दाजी २७ बर्षीय प्रकाश थारु र अन्दाजी ३४ बर्षीय विर्जा थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

तीन जना कामदार सेफ्टी ट्याङ्कीमा फसेको भन्ने खबर पाएपछि पुगेको प्रहरी टोलीले उनीहरुलाई मृत अवस्थामा निकालेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक चक्र बहादुर डमरपालको कमाण्डमा १५ जनाको टोली खटिई जेसिबीद्वारा सेफ्टी ट्याङ्की फुटाएर तीन जनालाई मृत अवस्थामा निकालिएको हो । उनीहरूको शव पोष्टमार्टमका लागि भेरी अस्पताल लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










