२०८३ साउन २८ , बिहीबार
Sky News Nepal
August 13, 2026

पहिरोमा परी मृत्यु भएका पाँच जनाको सनाखत, ८ जना अझै बेपत्ता, २ जना घाइते बुटवल पठाइयो



रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारा गाउँमा पहिरोमा परेर ५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ८ जना अझै सम्पर्क विहीन छन् । पहिरोमा परी गम्भीर घाइते भएका २ जनालाई थप उपचारका लागि बुटवल पठाइएको छ भने पहिरोमा हालसम्म १५ जना परेका छन् ।

पहिरोमा परी मृत्यु हुनेमा थबाङ गाउँपालिका–५ का १८ वर्षीया शान्ती पुनमगर, ६० वर्षीय कमल बहादुर पुनमगर, ७५ वर्षीय दल बहादुर पुनमगर, ८० वर्षीया मनखना पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगर रहेको रोल्पा प्रहरी प्रमुख (डीएसपी) पंचकुमार बाखुले जानकारी दिए । उनले पहिरोमा परी २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय संजय घर्ती मगर गम्भीर घाइते भएकोले थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको बताए ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार पहिरोमा परेर थवाङ गाउँपालिका–५ का ३८ वर्षीया जुनकुमारी पुन मगर, नौ वर्षीय अशिम पुन मगर, पाँच वर्षीय अशोक पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ८० वर्षीय बलबहादुर पुन मगर, ६१ वर्षीय लिलबहादुर पुन मगर, ६६ वर्षीया मनी पुन मगर र ३४ वर्षीय महेन्द्र घर्ती बेपत्ता छन् ।

उनीहरुको खोजी कार्य जारी छ । बेपत्ताको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयवासी खटिएका छन् । बुधबार राति परेको अविरल वर्षासँगै आएको लेदो, ठूला ढुङ्गा तथा मुढासहितको पहिरोले कोटलबाराको बस्तीका ९ वटा घर, १ वटा घुम्ती किराना पसल, २ वटा गोठ, १ वटा चर्च गरी १२ वटा पुरेर बगाउँदा ठूलो मानवीय क्षति भएको हो ।

प्रकाशित मिति : २०८३ साउन २८ गते बिहीबार
Translate »