

सुर्खेत । खाद्य स्वच्छता तथा गुणस्तर मापदण्डको प्रभावकारी कार्यान्वयन र खाद्यजन्य आपतकालीन जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आयोजित ‘कोडेक्स तथा इन्फोसान सम्बन्धी कार्यशाला’ आज सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले अन्तर्राष्ट्रिय खाद्य मापदण्ड (कोडेक्स) को महत्व, राष्ट्रिय कानुनसँगको तादात्म्यता र खाद्य सुरक्षा संकटका बेला विश्वव्यापी सञ्जाल (इन्फोसान) मार्फत गरिने द्रुत सूचना आदानप्रदानका विषयमा उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालालाई जानकारी दिने उद्देश्यले उक्त कार्यशाला आयोजना गरेको हो ।


कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण मानन्धरले उपभोक्ताको स्वास्थ्य रक्षा गर्न र अन्तर्राष्ट्रिय खाद्य व्यापारमा नेपालको पहुँच बढाउन अन्तर्राष्ट्रिय खाद्य मापदण्ड (कोडेक्स) को पालना अनिवार्य रहेको बताए । उनले खाद्य पदार्थमा हुने आकस्मिक जोखिम वा संक्रमणका बेला विश्वव्यापी सञ्जाल (इन्फोसान) मार्फत छिटो सूचना आदानप्रदान गरी क्षति न्यूनीकरण गर्न यस्ता कार्यशालाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यशालामा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत भिमप्रसाद पुलामीले कोडेक्स एलिमेन्टेरियसको परिचय, राष्ट्रिय खाद्य ऐन तथा मापदण्डसँग यसको सामञ्जस्यता र इन्फोसान सञ्जालको कार्यप्रणालीबारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यशालामा खाद्य सुरक्षा संकटको अवस्थामा अपनाउनुपर्ने आपतकालीन सूचना प्रवाहको प्रक्रियाबारे सहभागीहरुलाई गहन जानकारी गराइएको थियो ।
उक्त कार्यशालामा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत श्रीराम न्यौपाने, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाही, राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारीसँगै प्रयोगशाला विज्ञ, विभिन्न सरकारी निकायका प्रतिनिधि तथा सरोकारवालाहरुको सहभागिता रहेको खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय सुर्खेतका खाद्य अनुसन्धान अधिकृत तथा सूचना अधिकारी सन्तोष दाहालले जानकारी दिए ।












