बराहतालमा ट्याक्टर दुर्घटना हुँदा ३३ विद्यार्थी घाइते

स्काई न्यूज /मंसिर ११, सुर्खेत ।
पश्चिम सुर्खेतमा विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना भएको छ । जनज्योति माध्यामिक विद्यालय बड्डीचौरमा कृषि जेटिए अध्ययन गर्ने विद्यार्थी बोकेको ट्याक्टर कर्णाली राजमार्गअन्तर्गत बराहताल–५ हल्दुवामा बुधबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा ३३ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले बताए । घाइते मध्ये एकको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । घाइते विद्यार्थीलाई उद्धार गरी प्रदेश अस्पताल कालागाउँमा उपचार भईरहेको छ । विद्यार्थीहरु ट्रयाक्टरमा बसेर मौरी पालनको अध्ययन गर्न जाँदै थिए ।


प्रहरीका अुनसार गम्भीर घाइते हुनेमा बराहताल गाउँपालिका–९, का दिपेन्द्र गुरुङ र दैलेखको नारायण नगरपालिका–७, दैलेखका सनम राना छन् । गुरुङलाइ थप उपचारको लागि कोहलपुर लगिएको छ । स्पीड बढी र हाइड्रोलिक भएको ट्याक्टरको ट्रालीको स्वीच थिच्दा दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयको अनुमान छ । प्रहरी ट्याक्टर चालक र सहचालकलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भईरहेको छ । यता अभिभावकले भने विद्यालयले त्यति धेरै विद्यार्थी ट्रयाक्टरमा राखेर लैजानु गम्भीर भुल भएको बताएका छन् ।

Translate »