महोत्सवमा पनि अर्गानिककै चर्चा

बद्री पंगेनीले नचाए दर्शक

स्काई न्यूज /पुस ८, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगरमा जारी प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नविनतम् प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सवमा आउने दर्शकले अर्गानिक उत्पादनमा चाँसो दिने गरेका छन् । महोत्सवमा राखिएका अर्गानिक नास्ता तथा खानासँगै काउली, बन्दा, ब्रो काउली, सिमी, हिउदे सिमी, आलु, अदुवा, सुन्तला लगायतका कृषिजन्य उपज किन्नमा महोत्सवमा आउनेको भीड लाग्ने गरेको छ । महोत्सवमा देशी विदेशी आधुनिक वस्तुसँगै कृषिजन्य तरुल, वन तरुल र सखरखण्ड समेत बिक्रीका लागी राखिएका छन् । महोत्सवमा ४० प्रतिशत अर्गानिक वस्तुहरु राखिएको आयोजकले दावी गरेका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले उद्यमीहरुलाई प्रोत्साहन गर्नुका साथै उत्पादित कृषि तथा घरेलु वस्तुलाई अन्तर्राष्ट्रियस्तर पहिचान दिलाउन महोत्सवमा अर्गानिक वस्तुहरुलाई प्राथमिकता दिईएको महासंघ कर्णाली प्रदेशका वरिष्ठ उपाध्यक्ष दिपकबहादुर बुढाले बताए । उनका अनुसार महोत्सवमा १० वटै जिल्लामा उत्पादित कृषिजन्य ४० प्रतिशत अर्गानिक उपजको प्रर्दशनीसँगै विक्री वितरणको व्यवस्था मिलाईएको छ । ‘महोत्सवमा हुम्ला, जुम्ला लगायतका जिल्लामा उत्पादन हुने खाद्यन्न वस्तुहरु मकै, कोदो, मार्सि चामलको खिर, फापरको मम लगायतका खाने परिकारसँगै तरकारी तथा फलफुल राखिएका छन,’ उनले भने, ‘महोत्सवको रौनक मात्र बढाउन होइन, कर्णाली प्रदेशको गौरब बढाउने गरि महिला उद्यमीहरुले उत्पादन गरेका घरेलु उत्पादनहरु समेतलाई स्थान दिएका छौं । उनले स्वदेशी वस्तुको उत्पादन बढाई रोजगारका अवसर सृजनागरी आर्थिक समृद्धि हासिल गर्न टेवा पु¥याउनृे महोत्सवको आयोजना गरिएको जनाए । उनका अनुसार ‘लघु घरेलु तथा साना उद्योगका उत्पादनलाई प्रदर्शनीको माध्यमबाट क्रेता–विक्रेता बीच सम्पर्क बढाई बजार प्रवद्र्धनमा सहयोग पुग्ने छ ।

महोत्सवको चौथो दिन नेपाली लोक गीत गायन क्षेत्रका चर्चित बद्री पंगेनीले र राजु ढकाल सहितका कलाकारहरुले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए । महोत्सवमा लोक तथा दोहरी गायक पंगेनी र ढकालसहित जानकी तारमी मगर, रुपा जिसी, मोदन शंकर विसी र अञ्जनी अधिकारीले आफ्नो प्रस्तुली दिएका छन् । महोत्सवमा मंगलबार चर्चित लोक तथा दोहरी गायक रामजी खाँडलगायतका कलाकारहरु आउने आयोजकले जनाएका छन् । गायक खाँडसहित लोक दोहरी गायिका भूमिका गिरी, चर्चित देउडा गायक लालबहादुर धामी, गायक अर्जन सोनाम, चिरञ्नजिवी सापकोटा, मोडल आरुसी मगरलगायतका कलाकारहरुले दर्शकलाई नचाउने आयोजकको भनाइ छ । महोत्सवमा सोमबार ब्याडमिन्टन प्रतियोगितामा सहभागी ३२ समूहहरु मध्ये नगेन्द्रबहादुर थापा र खगेन्द्र खत्रीको टोलीले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै वकिलजंग शाह र लोकेन्द्रराज मल्लको टोली दोस्रो स्थानमा सन्तोष गर्नु परेको थियो ।


‘आर्थिक समृद्धिका लागि कर्णालीमा उद्योग खोलौं, औद्योगीकरणमा सबै जुटौं’ भन्ने नाराका साथ शुरु भएको महोत्सवमा सोमबार पनि विशेष भीड लागेको आयोजकले बताएका छन् । हालसम्म २ करोड रुपैयाँभन्दा बढीको कारोबार मेला आयोजक समितिका संयोजक चन्द्रबहादुर विसीले बताए । महोत्सव अवलोकनका लागि कर्णालीका दश वटै जिल्लाका लघु घरेलु तथा कृषि उत्पादकहरुको सहभागिता रहेको छ । ‘महोत्सवमा दशर्कले दैनिक उपभोग्य वस्तु तरकारी, खाद्यान्न र लत्ताकपडा बढी मात्रामा खरीद गरिरहेका छन् ,’ उनले भने, ‘महोत्सवमा औद्योगिक प्रविधि तथा कर्णालीका १० जिल्लाका साना तथा घरेलु उद्यमीले तयार पारेका सामग्री, कृषिजन्य उत्पादनसँगै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारिक प्रतिष्ठानका उत्पादनहरुको विक्री भइरहेको छ ।’ उनले राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने र स्थानीय उत्पादनको प्रर्दशन गरिने भएकोले पनि हरेक दिन दर्शकहरुको भिड बढ्दो क्रममा रहेको जनाए ।

Translate »