खेलमा पनि जन नमूना माविकै अग्रता
स्काई न्यूज /माघ २०, सुर्खेत ।
वीरेन्द्रनगरको जन नमूना माध्यमिक विद्यालयले खेलकुदमा समेत आफ्नो अग्रता प्रमाणित गरेको छ । कर्णाली प्रदेशमै गुणस्तरीय अब्बल पढाईका लागि चर्चित सुर्खेतको जन नमूना माविले आइतबार वीरेन्द्रनगरमा सम्पन्न दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समेत आफ्नो अग्रतालाई सावित गरेको छ । वीरेन्द्रनगर नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जन नमूनाले ९ स्वर्ण, ८ रजत र ५ कास्य पदकसहित अग्र स्थान कायम गरेको हो ।
प्रतियोगिताको विजेता बनेसँगै जन नमूनाले कुल २२ पदकका साथ शिल्डसहित २५ हजार रुपैयाँ नगद प्राप्त गरेको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले विद्यार्थीलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा समेत अब्बल बनाउन खेल प्रशिक्षक चन्द्रप्रकाश शाहीसँगै खेलाडीको कडा परिश्रम रहेको बताए । उनले नगरस्तरीय खेलकुद प्रतियोगितामा समेत विद्यालयका भाईबहिनीको परिश्रमले मेहनत खेर जादैन भन्ने पुष्टि गरेको जिकिर गरे । मानव जीवनका लागि खेलकुद बहुआयामिक महत्वको मात्र नभई समयले अपरिहार्य बनाउँदै लगेको उनको भनाइ थियो । ‘विद्यालयले पढाईसँगै अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुदलाई समेत विशेष महत्व दिएको छ,’ उनले भने, ‘विद्यार्थीको बहुमुखि प्रतिभा प्रस्फुटन गराउन अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थी भाईबहिनीलाई हौसला तथा प्रोत्सान दिँदै क्षमता अभिबृद्धिमा हामी जुटेका छौं । विद्यार्थीको सफलतामै अभिभावक एवं विद्यालयको समेत प्रतिष्ठा जोडिएकाले सफलताको यसअघिमा सबैलाई बधाई दिन चाहान्छौं ।’
आइतबार सम्पन्न दोस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एओएस हर्मन माईनर दोस्रो, अमर ज्योती नमूना मावि तेस्रो तथा सैनिक आवासीय माध्यमिक विद्यालय चौथो भएको थियो । प्रतियोगितामा दोस्रो, तेस्रो र चौथो हुनेलाई २० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिता समापन कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले शैक्षिक गुणस्तर सुधारसँगै अतिरिक्त क्रियाकलापके विकासका लागि नगरपालिका लागि परेको बताए । उनले शिक्षा सम्बन्धी नीति एव रणनीति तयार भईसकेकाले आगामी दिन थप व्यवस्थित गर्दे योजनाबद्ध तरिकाले अगाडी बढिने जिकिर गरे । जिल्ला खेल्कुद विकास समितिले समन्वय गरेको प्रतियोगितामा वीरेन्द्रनगरका सामुदायिक र संस्थागत गरि १७ वटा विद्यालयको सहभागिता रहेको नपाका सामाजिक संयोजक यमुना नेपालीले बताईन् । उनका अनुसार प्रतियोगितामा भलिबल,कबड्डी,हाईजम्प,लम्जम्प र सर्टफुट लगायतका खेल आयोजना गरिएको थियो ।