२०८३ भदौ ८ , सोमबार
Sky News Nepal
August 24, 2026

सुर्खेतका प्रजिअ अधिकारीको विदाई

जिल्लाबासीले सधै याद राख्नेछन


स्काई न्यूज /माघ २२, सुर्खेत ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई सुर्खेतबाट बुधबार विदाई गरिएको छ । अधिकारी पाँच महिनाअघि प्रमुख जिल्ला अधिकार भएर सुर्खेत आएका थिए । उनको सामान्य प्रशासन मन्त्रालय काठमाडौंमा सरुवा भएको छ । आफ्नो पाँच महिने छोटो कार्यकालमै प्रजिअ अधिकारीले सुर्खेतमा धेरै सुधारका काम गरे । सरकारी कार्यालय वातावरण सुधार अभियान, बजार अनुगमन तथा सुशासन, छाउपडी उन्मूलन, सरकारी जग्गा अतिक्रमण मुक्त, होटल व्यवसायीसँग १२ बुँदे घोषणापत्र, ढुङ्गा बालु तस्करी नियन्त्रण, निर्माण व्यवसायलाई जिम्मेवार बनाउने  लगायतका मुख्य कामहरु उनले गरे । त्यति मात्र होइन, उनले धेरै जसो स्थानीय तहमा पुगेर नागरिकका सुख–दुःख बुझे । सबैभन्दा बढी नागरिकका बीचमा पुग्ने प्रजिअको रुपमा अधिकारीलाई सुर्खेतबासीले लिएका छन् ।

 

बुधबार नै प्रजिअ अधिकारीसँगै जिल्ला प्रशासनकै प्रशासकीय अधिकृत उत्तम शर्माको पनि विदाई गरिएको छ । उनको स्थानीय पूर्वाधार विभाग ललितपुरमा भएको छ ।  जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी समेत रहेका शर्माले आफ्नो २१ महिने कार्यकाल उपलब्धीमुलक बनाएर गयें । उनले बजार अनुगमन तथा सुशासनसँगै जिल्लामा हुने सांस्कृतिक एवं साहित्यक कार्यहरुमा महत्वपूर्ण भूमिका निभाए । प्रजिअ अधिकारी र प्रशासकीय अधिकृत शर्माको कार्यकालमा विविध विषयमा काम गर्न सहज भएको चौकुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले जनाए । उनले प्रजिअ अधिकारी अन्य प्रजिअहरु भन्दा फरक रहेको बताए । जनताको बीचमा पुग्ने र उनीहरुको समस्या बुझेर काम फुकाउने कुरामा प्रजिअ अधिकारी अब्बल भएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २०७६ माघ २२ गते बुधबार
Translate »