‘तीन खम्बे नीतिलाई नमूना बनाऊँ’
स्काई न्यूज /माघ २८, सुर्खेत
सुर्खेतको वीरेन्द्रनगरमा आउँदो फागुन ६ गतेदेखि शुरु हुन लागेको दोस्रो कर्णाली एक्सपो सार्वजनिक नीजि सहकारी साझेदारीको ऐतिहासिक उदाहरण बन्ने विश्वास व्यक्त गरिएको छ । महोत्सवको मुख्य आयोजक सुर्खेत उद्योग वाणिज्य संघले मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको साझेदार निकायहरुबीचको संयुक्त बैठकमा यस्तो विश्वास व्यक्त गरिएको हो । सरकार, नीजि क्षेत्र र सहकारी समेतको संयुक्त सहकार्यमा पहिलो पटक आयोजना हुन लागेको अर्गानिक कृषि, उद्योग, पर्यटन, घरेलु, हस्तकला, सांस्कृतिक तथा व्यापार महोत्सव आयोजना हुनु नै पहिलो उपलब्धि भएको कार्यक्रमका सहभागीले बताएका छन् ।
एक्सपो सह–आयोजक भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले एक्सपोमा भारतको सिक्किमका कृषिमन्त्री, कृषिविज्ञ र अर्गानिक अभियान्ताहरुलाई आमन्त्रण गर्ने तयारी भइरहेको जानकारी दिए । उनले कृषि क्षेत्रमा व्यापक प्रगति गरेको भारतको सिक्किम राज्यका कृषिमन्त्रीसंगै अन्य अर्गानिक अभियन्ता एवं कृषिविज्ञलाई एक्सपोमा आमन्त्रण गर्न लागिएको बताए । ‘उनीहरुको उपस्थितिमा महोत्सव अवधिमै अर्गानिक कृषि सम्मेलन पनि आयोजना हुनेछ,’ उनले भने, ‘२०७४ फागुन ६ गते बसेको कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशलाई अर्गानिक बनाउने भनी गरेको निर्णयलाई कार्यान्वयन गर्नपनि एक्सपो प्रभावकारी तथा सफल हुनेछ ।’ कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष अमृत विसीले तीन खम्बे अर्थनीतिका प्रमुख साझेदार तीन वटा क्षेत्रले सहकार्य गरेर त्रि–पक्षीय एकताको सन्देश दिएको भन्दै यो आफैमा उपलब्धि भएको दाबी गरे । ‘सरकार, नीजि क्षेत्र तथा सहकारी वीच प्रभावकारी समन्वय एवं सहकार्य भए आर्थिक समृद्धिको गन्तब्य हासिल हुनेछ ।
यो तीनै पक्षको जिम्मेवारी हो,’ उनले भने । त्यस्तै कृषक समूह महासंघ कर्णालीका अध्यक्ष सन्तबहादुर केसीले कृषकहरुका उत्पादन एकैचोटी धेरै विक्री भएर स्टल नै रित्तिने वा विक्री नभएर सडेर जाने अवस्था नआउनेतर्फ आयोजकले ध्यानदिनुपर्ने सुझाव दिए । कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक धनबहादुर रावतले नयाँ नौला प्रविधि मात्र नभई परम्परागत सीप,कला एवं अर्गानिक रैथाने बालीहरु पनि समेटिनु उदाहरणीय भएको टिप्पणी गरे । एक्सपोमा प्रवेश गेटका रुपमा लण्डन ब्रिज र सेल्फी पोइन्टका रुपमा बुर्ज अल अरबसंगै कर्णालीका रैथाने बालीहरुको स्वाद र हलोकोदालो समेत एकै ठाउँ समेटिनु निकै दुर्लभ एवं ऐतिहासिक हुने उनको ठहर थियो । कार्यक्रमा संघका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्का, महासचिव लक्ष्मण कंडेललगायतका सरोकारवालाहरुले आफ्ना भनाई राखेका थिए ।