‘एमसीसी राष्ट्रका लागि खतरा’

स्काई न्यूज /फागुन १, सुर्खेत ।
राष्ट्रिय जनमोर्चाले संगठन विस्तार अभियान शुरु गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा विहीबार पत्रकार सम्मेलन मार्फत जनजिविका सँग जुडेका विषयवस्तु सहित राष्ट्रिय समसामियक एजेण्डा बोकेर जनमोर्चा संगठन विस्तार अभियानमा जुटेको बताएको हो । मोर्चाका केन्द्रीय महासचिव जनकराज शर्माले वर्तमान सरकारका जनविरोधी तथा राष्ट्रघाती क्रियाकलापको भण्डाफोड गर्न संगठन विस्तार अभियानमा जुटिएको बताए । ‘भ्रष्टाचार, कुशासनमा राजनीतिज्ञ नै जुटेका छन्,’ उनले भने, ‘देशका अधिकांश युवा पढाई त्यागी मजदुरीका लागि भारत या खाडीमा पुगेका छन ।’ उनले सरकार भ्रष्टाचारलाई बढावा दिँदै स्वइच्छाचारी भएकोले गरिब जनतालाई झन गरिब बनाउने काम लागेको आरोप लगाए । सरकारले कालापानी, लिपुलेक जस्ता नेपाली भुभागमा भारतीय हस्तक्षेप भईरहँदा समेत चुप लागेर बस्नु दुभाग्र्य भएको उनले बताए ।
‘अमेरिकी सहयोग सम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट अनुमोदन नगर्न हामी माग गर्दै आएका छौं,’ उनले भने, ‘अमेरिकाले आफ्नो रणनीतिक उद्देश्य पूरा गर्न एमसिसी अनुमोदनका लागि दबाब दिईरहेको छ ।’ उनले सहयोग निशर्त हुनु पर्नेमा सर्शत राखेर अमेरिकाले नेपाललाई पंगु बनाउने काममा जुटेको आरोप लगाए । अमेरिकी सरकारसँगको सम्झौता एमसीसीको अनुदान सहायता नेपाल सरकारले कुनैपनि हालतमा स्वीकार गर्न नहुने उनको भनाइ थियो । उनले एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग भएको भन्दै त्यसलाई स्वीकार गर्नु असंलग्न परराष्ट्र नीति विपरीत हुने दाबी गरे । ‘एमसीसी परियोजना इन्डो प्यासिफिक रणनीतिसँग जोडिएको छ र यो रणनीति उत्तर कोरिया, चीन र रुसविरुद्ध उभिएको छ । यसरी कसैको विरुद्ध खडा भएको गठबन्धनको अनुदान नेपाल सरकारले स्वीकार गर्नु जनताका लागि घातक हुनेछ ।’ उनले इन्डो प्यासिफिक रणनीति भनेको अरुलाई पराजित गरी अमेरिकालाई शक्तिशाली बनाउने रणनीतिमा बनेको गठबन्धन भएको दाबी गरे ।

कार्यक्रममा मोर्चाका केन्द्रीय सदस्य रत्नविक्रम प्यासीले जनप्रतिनिधि नै अहिले अकुत सम्पत्ति थुपार्ने खेलमा लागेकाले अभियान मार्फत जनताका सामु लुटतन्त्रको भण्डाफोर गरिने जनाए । ‘विभिन्न बहाना बनाएर कर्मचारी र जनप्रतिनिधहरु जनताको विकास नभई आफ्नो विकासमा जुटेका छन,’ उनले भने, ‘विकास गर्नका लागि पर्याप्त सम्भावना हुँदाहुँदै कर्मचारीको मिलेमतोमा जनप्रतिनिधि तथा नेताहरु जनताको अपेक्षालाई कुल्चिएर कमाउँ धन्दामा लागेका छन् ।’ उनका अनुसार कर्णाली प्रदेशका १० ओटै जिल्लाका गाउँ–गाउँमा संगठन विस्तारका लागि अभियान पु¥र्याइनेछ । अभियानमा केन्द्रीय समितिदेखि स्थानीय तहका समितिलाई विशेष टोली बनाएर संगठन विस्तार अभियानमा परिचालन गर्न लागिएको उनको भनाइ छ । कार्यक्रम मोर्चा सुर्खेतका जिल्ला अध्यक्ष गोविन्दप्रसाद सुवेदीको सभापतित्वमा भएको हो ।