विप्लव आरोपी किरण अदालतबाटै पुनः पक्राउ


स्काइ न्यूज /फागुन ४, सुर्खेत ।
नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ता भएको आरोप लागेका किरणप्रकाश विसीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पुनः पक्राउ गरेको छ । सुर्खेत जिल्ला अदालतको आदेश अनुसार २५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका विसीलाई प्रहरीले अदालतको गेटबाटै आइतबार पक्राउ गरेको हो । विसीको अभियोग पत्रमाथि सुनुवाई गर्दै आइतवार जिल्ला न्यायाधीस प्रल्हादकुमार योगीको एकल इजलाशले विसीलाई २५ हजार धरौटीमा छोड्नुका साथै चैत ३ गते अदालतमा उपस्थित हुन आदेश दिएको थियो । प्रहरीले विसीलाई ‘विप्लव’ कार्यकर्ता भएको आरोपमा गत माघ १३ गते पक्राउ गरेको थियो ।

पक्राउ परेका विसीलाई संगठित रुपमा राज्य विरुद्धको अपराधमा मुद्दा चलाइएको छ । अदालतले विसीलाई धरौटीमा छोड्न आदेश दिएपनि प्रहरीले पुनः पक्राउ गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार विसीलाई प्रहरीले स्वास्थ्य चेकजाँच गराउने बहानामा पुनः नियन्त्रणमा लिएर नेपालगञ्जतर्फ लगेको छ । यता प्रहरी भने अदालतको आदेश अनुसार विसीको स्वास्थ्य चेक जाँचपछि छोडेको दावी गरेको छ ।

Translate »