समृद्धिका लागि सबै जुटौः उपराष्ट्रपति पुन

दोस्रो कर्णाली एक्सपो

स्काई न्यूज /फागुन ६, सुर्खेत ।

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल नयाँ युगमा प्रवेश गरिसकेकाले भौगोलिकरुपमा पछाडी परेको कर्णालीको समृद्धिका लागि सबै जुट्नु पर्ने बेला आएको बताएका छन् । दोस्रो कर्णाली एक्सपोको मंगलबार वीरेन्द्रनगरमा उद्घाटन गर्दे उपराष्ट्रपति पुनले कठिन भौगोलिक अवस्थिती, पूर्वाधार विकास एवं आर्थिक परिसूचकमा पछाडि परेको कर्णालीलाई विगतका सरकारबाट उपेक्षित, उत्पीडीत भएकाले क्षतिपूर्तिको रुपमा संघीय सरकारले विशेष कार्यक्रम चलाउन सुझाव दिए । उनले कर्णालीको विकासका लागि मेरुदण्डको रुपमा रहेको कर्णाली करिडोर, १३३ केभी प्रसारण लाईन, जडिबुटी प्रशोधन केन्द्र स्थापना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरोन्नती एवं सुर्खेत औद्योगिक क्षेत्रलगायतको पूर्वाधार विकासमा संघीय सरकारलाई विशेष ध्यान आग्रह गरे ।

‘भर्जिन कर्णालीमा लगानी गर्न देश विदेशमा रहेका उद्योगपतिलाई आग्रह गर्दछु,’ उनले भने, ‘पर्यटन वर्ष २०२० को अवसरमा आन्तरिक तथा बाह्य पर्यटकलाई एक पटक कर्णालीको विविधतापूर्ण प्राकृतिक सुन्दरताको अवलोकन गर्नुहोस् ।’ उनले सरकारको एक्कल प्रयासले मात्र विकास सम्भव नहुँने हुँदा तीन खम्बे नीति अन्तर्गत सार्वजनिक, नीजि र सरकारी क्षेत्र मिलेर कर्णालीको समृद्धिका लागि काम गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा अपार सम्भावना हुँदाहुँदैपनि भौतिक पूर्वाधार अभावमा प्रदेश पछाडी परेकाले तीन तहका सरकारहरुको समन्वयमा विकास निर्माणका काम भईरहेको बताए । कर्णालीलाई आर्गानिक प्रदेश बनाउनका लागि एक्सपोले टेवा पुग्ने विश्वास राख्दै जनताले चाहेको विकास, समृद्धि र सुशासनका लागि सरकार प्रयासरत रहेको उनले जिकिर गरे । ‘प्रदेश सरकार जनअपेक्षा अनुरुप नै आफ्ना गतिविधि सञ्चालन गरिरहेको छ,’ उनले भने, ‘प्रदेशमा लगानी आकर्षित गर्न सरकारले उद्योगीलाई ५ वर्ष सम्म शान्ति सुरक्षाको ग्यारेन्टीसहित सबै प्रकारका छुट दिने निर्णय गरिसकेको छ । त्यतिले मात्र पुग्दैन, स्थानीय र संघीय सरकारले समेत दश वर्ष सम्मका लागि लगानीकर्तालाई कर्णालीमा छुट दिनु पर्छ ।’ उनले प्रदेशको तीव्र भौतिक पूर्वाधार विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग विना तत्काल केही समस्या भएपनि केही समयपछि सबै जनअपेक्षाहरु पुरा हुने विश्वास व्यक्त गरे ।


कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष किशोर प्रधान, कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाही, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतलगायतले तीन तहका सरकारले नीजि क्षेत्रको मागलाई सम्बोधन गर्दे उद्योगमैत्री वातावरण बनाई दिन आग्रह गरे । उनीहरुले कर्णालीको समृद्धिका लागि नीजि क्षेत्र सरकारसँग सहकार्य तथा समन्वय गर्न तयार रहेको स्पष्ट पारे । एक्सपोमा कर्णालीका अर्गानिक उत्पादनको प्रदर्शनी, नविनतम् प्रविधिको प्रयोग लगयतका प्रदर्शनी कक्षहरु राखिएको छ । पहिलो पटक लण्डन ब्रीज (प्रवेश द्धार) सहित सेल्फी जोनको पनि व्यवस्था गरिएको छ ।

फागुन १७ गतेसम्म सञ्चालन हुने ‘अर्गानिक कृषि, उद्योग, पर्यटन, सांस्कृतिक दोस्रो कर्णाली एक्सपोमा साढे चार सय व्यवसायिक स्टलहरुसहित करिब ५ करोडको व्यवसायिक कारोबार र ६ लाख दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा राखेका छन् । यसैवीच सुर्खेत उद्योग वाणिज्य संघले उपराष्ट्रपति पुन समक्ष १७ बुँदे माग पेश पत्र बुझाएको छ । संघले कर्णाली विद्युत विस्तारलाई तीब्रता, सडक सञ्जालको स्तरोन्नती, गौरवका आयोजनाहरुलाई छिटो सञ्चालनमा ल्याउन सरकारका तर्फबाट गर्नु पर्ने आवश्यक नीतिगत तथा भौतिक पूर्वाधार निर्माणको कार्य यथाशीघ्र शुरु गर्न पहल गरिदिन भनिएको छ ।

Translate »