२०८३ असोज १५ , बिहीबार
Sky News Nepal
October 1, 2026

सञ्चारमन्त्री बास्कोटाद्वारा राजीनामा

अडियो टेप प्रकरण


स्काई न्यूज/ फागुन ८ सुर्खेत ।
सेक्युरिटी प्रिन्टिङ प्रेसको खरीदमा कमिसनको कुरा गरेको अडियो टेप बाहिरिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले पदबाट राजीनामा दिएका छन् । सेक्युरिटी प्रेसको खरीदमा बाहिरिएको सञ्चारमन्त्रीको अडियो टेप प्रकरणमा सञ्चारमन्त्री बास्कोटालाई बर्खास्त गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा अवरुद्ध गरेपछि प्रतिनिधि सभाका सभामुख

अग्निप्रसाद सापकोटाले यो प्रकरणमा सदन र सरकार दुवैको ध्यानाकर्षण भएको र सम्बन्धित मन्त्रीले राजीनामा दिएको जानकारी दिए । ‘यस प्रकरणमा सदन र सरकार दुवैको ध्यानाकर्षण भएको छ, ‘सम्बन्धित मन्त्रीले राजीनामा दिएको अनौपचारिक जानकारी मलाई प्राप्त भएको छ, केही समयमा औपचारिक राजीनामा पत्रको जानकारी पनि सदनलाई आउने नै छ,’ उनले भने । प्रतिनिधि सभाको वैकठकमा कांग्रेस सांसदहरुले मन्त्री बास्कोटालाई बर्खास्त गर्नुपर्ने माग गर्दै बैठक अवरुद्ध गरेका थिए । नेपाली कांग्रेसका सांसदहरुको अवरोधका कारण प्रतिनिधि सभाको बैठक फागुन १३ गतेसम्मका लागि स्थगित भएको छ । यसअघि सेक्युरिटी प्रेसको खरीदको अडियो टेप प्रकरणमा सञ्चारमन्त्री बास्कोटालाई बर्खास्त गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक पनि अवरुद्ध गरेको थियो । यस्तै राष्ट्रिय सभा बैठक पनि फागुनमा १५ बस्ने गरी स्थगित भएको छ । यता संघीय संसद प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले पनि सेक्युरिटि प्रेस स्थापनाको सम्पूर्ण कार्य रोक्न सरकारलाई निर्देशन दिएको छ ।

 

प्रकाशित मिति : २०७६ फागुन ८ गते बिहीबार
Translate »