न्यून चापीय वायुले अझै वर्षाको सम्भावना

स्काई नयूज /फागुन १०, सुर्खेत ।
दुई दिनदेखि नेपालमा स्थिर रहेको पश्चिमी न्यूनचापीय वायुको प्रभाव अझै केही दिन लम्बिने अनुमान गरिएको छ । नेपाल प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणाली प्रकृति हेर्दा अझै एक/दुई दिन रहने सम्भावना बढेको हो । यसले मौसम पूर्णरुपमा सुधार आउन केही दिन लाग्ने देखिएको छ । पश्चिम नेपालका पहाडी भेगमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतले बताएको छ । शनिबार जस्तै आइतबार र सोमबार पनि हल्का वर्षा हुन सक्ने सम्भावना रहेको कार्यालयका प्रमुख विनोद पराजुलीले जानकारी दिए ।

‘ठूलो पानी पर्ने देखिदैन् तर हल्का वर्षातको सम्भावना आइतबार र सोमवार पनि देखिन्छ’ पराजुलीले भने, ‘मौसमवीच घाम र बादलको लुकामारी भइराख्ने सम्भावना छ ।’ उच्च हिमाली र भारतको उत्तर प्रदेशमा मौसम सफा देखिएको पराजुलीको भनाई छ । पहाडी भू–भागका थोरै स्थानहरुमा वर्षा र चट्याङको सम्भावना रहेकाले नागरिकलाई सतर्कता अपनाउन कार्यालयले अनुरोध गरेको छ ।
तथापी नेपालमा नयाँ मौसमी प्रणालीका अलावा प्रिःमनसुनको मौसमको पूर्वअवस्था भएकाले आगामी दिनमा मौसमी गतिविधि फेरबदल भइरहेने मौसमविद्को भनाइ छ । अबका दिनमा बिहानीपख मौसम सफा देखिए पनि अपराह्नपछि मौसम बदली हुने, मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहने बताइएको छ । प्रिःमनसुन अप्रिल र मे महिनालाई प्रिमनसुन मानिन्छ । उक्त अवधिमा मौसमी गतिविधि फेरबदल हुन्छ । हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका पूर्वी तथा मध्य भेगमा आंशिकदेखि सामान्य बदली रहनुका साथै पूर्वी पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ ।

Translate »