पर्यटन प्रवद्र्धनमा सुर्खेत काँक्रेविहार यातायात

सवारीमा अब लगेज स्टिकर सिष्टम

स्काई न्यूज/ फागुन १५, सुर्खेत ।
कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धन गर्न कर्णाली प्रदेश सरकार र सुर्खेत काँक्रेविहार यातायात प्रालि वीच सहकार्य भएको छ । नेपाल भ्रमण वर्ष २०२० तथा यसपाली घुमौं कर्णालीलाई सार्थक बनाउनका लागि सुर्खेत काँक्रेविहार यातायात प्रालिले आफ्ना सम्पूर्ण बसहरुमा पर्यटन प्रवद्र्धन अंकित लोगोहरु टाँसेर पर्यटन प्रवद्र्धनको सुरुवात गरिएको हो । विहीवार सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्य, प्रालिका अध्यक्ष रमेशकुमार सापकोटाले प्रालिका बसहरुमा पर्यटन प्रवद्र्धनको लोगोहरु टाँसेका छन् । सचिव डा. आचार्यले संघीय तथा प्रदेश सरकारको पर्यटन प्रवद्र्धनको अभियानमा निजी क्षेत्रको सहकार्य भएकोमा खुशी व्यक्त गरे । उनले कर्णालीमा पर्यटनको प्रचुर सम्भावना भएपनि पूर्वाधारको अभावले प्रवद्र्धन गर्न कठिनाइ भएको बताए । पर्यटन प्रवद्र्धनका लागि नीजि क्षेत्रले बजारीकरण, पूर्वाधार निर्माणमा सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

प्रालिद्वारा सञ्चालित सवारी साधनमा कर्णालीका पर्यटकीय स्थलहरुवारे सूचना समावेश भएका स्टिकरहरु टाँसिएका छन् । अध्यक्ष सापकोटाका अनुसार सुर्खेत–काठमाण्डौ र जाजरकोट–काठमाण्डौका लागि नयाँ ल्याइएका आठ वटा ‘एयर सस्पेन्सन’ बस र कर्णालीका सबै स्थानमा चल्नेगरी ल्याइएका साना २० वटा बसहरुमा स्टिकरहरु टासिँएका छन् । प्रालिले ९ करोड रुपैंया लगानीमा यी बसहरु सञ्चालनमा ल्याएको हो । ‘यसपाली घुमौं कर्णाली’ लेखिएको लोगो सहित कर्णालीको रारा ताल, देउती बज्यै मन्दिर, बुलबुले उद्यान, जाजरकोट दरवार, त्रिपुरासुन्दरी मन्दिर, छत्रेश्वरी मन्दिर छाँया क्षेत्र, से–फोक्सुन्डो ताल लगायतका पर्यटकीय स्थलहरु स्टिकरमा समावेश गरिएका छन ।

‘प्रालीले यात्राका समय गाडीमा झोला हराउने तथा छुट्ने समस्यालाई न्युनिकरण गर्न ‘लगेज स्टिकर सिष्टम’ ल्याउने भएको छ,’ अध्यक्ष सापकोटाले भने, ‘यात्रुका सामाग्री सुरक्षाका लागि हवाई सेवामा मात्र प्रयोग गरिँदै आइएको यो पद्वति–प्रक्रिया अब सडक यातायातमा समेत प्रयोगमा ल्याउन लागेका छौं ।’ उनले  यसै महिना भित्रै लगेज स्टिकर पद्वती शुरु गर्ने जनाए । बसको ‘डिग्गी’ वा बसभित्र अन्यन्त्र स्थानमा राखिएका झोलाहरु साँटिने तथा हराउने जस्ता घटना न्यूनिकरण सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।

 

 

Translate »