मदन भण्डारी राजमार्गको पञ्चपुरी खण्डको विवाद समाधान

राज्यमन्त्री रावतको पहलमा खम्वागाडे–विद्यापुर सडक डीपीआर कार्य शुरु

स्काई न्यूज /फागुन १६, सुर्खेत ।
मदन भण्डारी राजमार्ग अन्तर्गतको सुर्खेतको पञ्चपुरी नगरपालिकामा विगत केही समय देखि उत्पन्न विवाद समाधान भएको छ । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतको पहलमा राजमार्ग मापदण्डकै छोटो सडकको डीपीआर हुने सुनिश्चित भएपछि विवाद समाधान भएको हो । यसअघि राजमार्ग सालकोट वा बाबियाचौर कुन स्थानबाट लैजाने भन्ने विषयमा विवाद रहँदै आएको थियो । राजमार्ग सालकोट हुँदै लैजाने र हाल खम्बागाडे, बाबियाचौर हुँदै बिद्यापुर जोड्ने सडकको स्तरोन्नती गरि त्यही मापदण्डको सडक बन्ने निश्चित भएपछि विवाद समाधान भएको छ । राज्यमन्त्री रावतको पहलमा खम्बागाडे बाबियाचौर हुँदै विद्यापुर जोड्ने सडकलाई ५० मिटर चौडाइको बनाउनका लागि डीपीआरको काम शुक्रबारबाटै शुरु भएको छ । उक्त सडक करिब २० किलोमिटर लम्बाईसँगै ५० मिटर चौडाईको बन्नेछ ।

राज्यमन्त्री रावतले शुक्रबार खम्बागाडेमा डीपीआर कार्यको उद्घाटन गरेका छन् । आफुले गरेका प्रतिवद्धता पुरा गर्दै आएको भन्दै राज्यमन्त्री रावतले विकासका काममा विवाद नभई सहयोग गर्नुपर्नेमा जोड दिए । ‘निर्वाचन ताका पश्चिम सुर्खेतका सडकलाई केन्द्रीय सडकमा जोड्ने छु भन्ने प्रतिबद्धता गरेको थिएँ,’ उनले भने, ‘मैले निर्वाचन ताका गरेका प्रतिबद्धता पुरा गर्दै गएको छु । तपाई हामी अब विकासमा विवाद होइन, सहयोगी बन्नु प¥यो ।’ ५० मिटर चौडाई मापदण्डको लागि डीपीआर र आईई तत्कालै शुरु गरि आउँदो आर्थिक वर्षमै बजेटको व्यवस्था गर्न आफु प्रतिवद्ध रहेको राज्यमन्त्री रावत जिकिर गरे । साना तिना समस्या आएमा समाधान गर्ने जिम्मेवारी स्थानीय तहका जनप्रतिनिधिको समेत भएको भन्दै उनले डीपीआर सफलतापूर्वक सम्पन्न गर्न सबैको सहयोग अपरिहार्य रहेको बताए । राज्यमन्त्री रावतले विकासका लागि आएको बजेटको सदुपयोग भए/नभएको देखरेख गर्न बुद्धिजीविसँगै स्थानीय सरोकारवालासँग आग्रह गरे ।

यता सडक संघर्ष समितिका अध्यक्ष मयाराम कंडेलले आफूहरुका माग पुरा गरेकोमा राज्यमन्त्री रावतलाई धन्यवाद दिए । यसैक्रममा राज्यमन्त्री रावतले सालकोटमा रहेको प्राथमिक स्वास्थ्य चौकीमा एक हप्ताभित्रै चिकित्सक पठाउने प्रतिबद्धता समेत जनाए । उनका अनुसार स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सबै नेपालीलाई सर्वसुलभ स्वास्थ्य दिनका लागि लागि सरकार प्रतिवद्ध छ ।

Translate »