स्क्साभेटरमा आगजनी गर्नेलाई कार्वाहीको माग

स्काई न्यूज/ फागुन ६, सुर्खेत ।
नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतले स्क्साभेटरमा आगजनी गर्नेलाई कार्वाहीको माग गरेको छ । समाजले विहीबार प्रेस विज्ञप्ति जारी गर्दै मृतसञ्जिवनी–रेगन जेवीको जाजरकोटको बारेकोट गाउँपालिकाबाट सञ्चालित सडक लिम्सा हान्ने सल्ला सडक निर्माण कार्यमा प्रयोग भईरहेको स्क्साभेटरमा मंगलबार राती अगजनी गर्नेलाई कार्वाहीसहित निर्माण व्यवसायीलाई क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरेको हो । अज्ञात समूहको आगजनीबाट स्क्साभेटर पूर्णरुपमा नष्ट भएको समाजका पूर्व सचिव तथा रेगन निर्माण सेवाका प्रोपराईटर दानबहादुर खड्काले बताएका छन् ।

फोटो गुगलबाट साभार ।

‘समाजका अध्यक्ष जनकबहादुर रावलद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ,’ ‘यस्ता घृणित तथा आतंकित क्रियाकलापहरुको समाज  घोर भत्सना गर्दछ । भौतिक पूर्वाधार निर्माणमा खटिँदै आएको निर्माण व्यवसायीलाई आतंकित पार्ने यन्त्र उपकरणमा आगजनी गर्ने लगायतका घटनाको आवश्यक छानविन गरि दोषीलाई कडा कारवाही र आगजनीबाट सम्बन्धित निर्माण व्यवसायीलाई भएको हानी नोक्सानीको नेपाल सरकारबाट उचित क्षतिपूर्तिको व्यवस्था मिलाई दिनु पर्छ ।’ उनले निर्माण कार्यमा शान्ति सुरक्षा कायम राखी सहज ढंगबाट काम गर्ने वातावरण बनाएर भविष्यमा यस्ता अपराधिक घटना नदोहरिन दिन सरकारसँग माग गरे ।

Translate »