सुर्खेतमा जोर–बिजोर प्रणाली

स्काई न्यूज /चैत १०, सुर्खेत ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सुर्खेतमा जोरबिजोर प्रणालीमा सवारीसाधन सञ्चालन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरेको हो । मंगलबारदेखि लागु हुने कार्यालयका सूचना अधिकारी पदमलाल लामिछानेले जानकारी दिए । यसबारेमा जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै आम नागरिकलाई सूचित गराइएको लामिछानेले बताए ।

विज्ञप्तिमा मंगलबार बिजोर नम्बरका सवारीसाधन सञ्चालन हुने जनाइएको छ । मोटरसाइकललगायत सबै सवारीसाधनमा यो नियम लागू हुने कार्यालयको विज्ञप्तिमा उल्लेख छ । यो नियम अर्को सूचना जारी नहुन्जेलसम्म लागु हुनेछ । भीडभाड कम होस र रोग लाग्नबाट जनता बाँचून भन्ने अभिप्रायले सूचना जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । साथै, राति १० बजेदेखि अत्यावश्यक सेवाका एम्बुलेन्स, शव बाहन, सुरक्षाकर्मीका सवारी साधनबाहेक अन्य कुनै पनि सवारी साधनको आवागमन बन्द गरिने जनाइएको छ ।

Translate »