
स्काई न्यूज /चैत ११, नई दिल्ली ।
भारत सरकारले आगामी तीन साताका लागि पुरै देश बन्द गर्ने निर्णय गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै पुरै देशमा लकडाउनको घोषणा गरेका हुन् । कोरोना भाइरसको संक्रमणमा देशका सबैजसो राज्यमा पुगेपछि भारतीय प्रधानमन्त्री मोदीलाई देशमा २१ दिन लामो लकडाउन घोषणा गर्नु परेको हो । कोरोना भाइरसबाट १० जनाको मृत्यु र ५३० भन्दा धेरै संक्रमित भएपछि मोदीले एक सातामै दोस्रो पटक राष्ट्रलाई सम्बोधन गरेका हुन् । ‘हाम्रा लागि यी २१ दिन अत्यन्तै महत्वपूर्ण छन् । यसैले आज राति १२ बजेदेखि देशमा पूरै लकडाउन गर्दैछौं, मोदीले देशबासीलाई हात जोड्दै भने, ‘आज राति १२ बजेदेखि देश पूर्णरुपमा लकडाउन हुँदैछ। कृपया यी २१ दिनमा कोहीले पनि घरबाहिर निस्किने कल्पना पनि नगर्नु होला ।’ प्रधानमन्त्री मोदीले कोरोना भाइरससँग बच्नका लागि यो बाहेक अर्को कुनै विकल्प नरहेको पनि बताए ।


हामीसँग यो बाहेक अर्को कुनै बाटो थिएनु, उनले भने, ‘कोरोनालाई फैलिनबाट रोक्न यही नै उपाय थियो । कोरोनाको संक्रमणको सांग्लोलाई यही विकल्पबाट तोड्न सकिन्छ । मोदीले जनतालाई कडा चेतावनी दिँदै कुनै पनि प्रकारको खेलवाडले जीवन नै खतरामा पर्न सक्ने छ । ‘कुनै पनि प्रकारको खेलवाडले तपाईं हाम्रो जीवन नै जोखिममा पर्न सक्छु, उनले मलिन अनुहार बनाउँदै भने, ‘मलाई विश्वास छ, हरेक भारतीय संकटको यस घडीमा सरकारको, स्थानीय प्रशासनको निर्देशनको पालना गर्न तयार हुनेछन् । उनले २१ दिन लामो लकडाउनले भारतवासीको ज्यान बचाउने पनि बताए । २१ दिन लामो लकडाउन लामो त छ तर तपाईंको जीवन रक्षाका लागि, तपाईंका परिवारको जीवन बचाउनका लागि यो त्यतिकै महत्वूर्ण पनि छ । मोदीले कुनै पनि किसिमको अफवाहको पछि नलागी धैर्य गरेर बसिदिन पनि अपिल गरेका छन् । ‘तपाईंहरु सबैले कुनै पनि किसिमको अफवाह र अन्धविश्वासमा नपरिदिनु होलाु, मोदीले भने, ‘मेरो बिन्ति छ तपाईंहरु कसैले कोरोनाको लक्षण देखिएमा डाक्टरको सल्लाह नलिइ कुनै पनि किसिमको औषधि नखानु होला ।’ मोदीले राज्य सरकारलाई पनि यस समय पहिलो प्राथमिकता केवल स्वास्थ्य सेवा हुनुपर्ने बताएको सम्झाउँदै अरु सबै कुरालाई अहिले स्थगित गर्न अपिल गरे । भारतमा नोभल कोरोना भाइरस फैलिएको १४ औँ दिन बित्दा ज्यान गुमाउनेको संख्या १० पुगेको छ भने कोरोना भाइरस संक्रमणको संख्या ५ सय ३० पुगेको बताइएको छ।











