वीनपाद्वारा आफुखुशी राहत वितरणमा रोक

स्काई न्यूज /चैत १७, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आफुखुशी राहत वितरण कार्यमा रोक लगाएको छ । सोमबार कार्यवाहक नगर प्रमुख मोहनमाया ढकालसँगै प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालद्वारा हस्ताक्षरित प्रेसविज्ञप्ति मार्फत विभिन्न संघ संस्था एवं व्यक्तिले मनलाग्दी तरिकाले राहत सामग्री वितरण गर्न थालेको जनगुनासो आएपछि रोक लगाउनु परेको बताईएको छ । विज्ञप्तिमा नगर क्षेत्रभित्र अनुमति विना राहत रकम तथा सामाग्री वितरण गर्न नपाइने भनिएको छ ।

‘आफुखुशी नगरका विभिन्न गल्ली, वस्तीमा राहत सामाग्री वितरण गराउने नाममा प्रचारप्रसार गर्ने कार्यले कोरोना भाईसर संक्रमण व्यवस्थापनमा दोहोरोपना आउने, संक्रमण झनै फैलिने जोखिमसँगै ती कार्यहरु लक्षित वर्गसम्म प्रभावकारी नहुने देखिएकाले यस संकटको घडीलाई सबै मिलेर पार गर्ने उद्देश्यका साथ राहत, सहयोग सामग्री तथा जनचेतनाको कार्य एकद्वार प्रणालीबाट गर्ने गरी व्यवस्था मिलाइएको हुँदा कुनैपनि संघसंस्था, व्यक्तिले आफू खुशी यस प्रकारको कार्य नगर्न नगराउन जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ । प्राप्त सहयोगलाई नगरपालिकाले आवश्यकताको आधारमा वितरण गर्ने र दाताको विवरण सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ । नगरपालिकाको अनुमति विना वितरण लगायतका गतिविधि भएको खण्डमा सम्बन्धित व्यक्ति, संघसंस्थालाई नियमानुसार कार्वाही गरिने बताईएको छ ।

Translate »