प्रहरी हिरासतबाटै फरार तीनै जना थुनुवा पक्राउ

१२ घण्टा नवित्दै पक्राउ गर्न सफल भएको सुर्खेत प्रहरीको दावी

स्काई न्यूज /चैत २०, सुर्खेत ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतबाट फरार तीनै जना थुनुवा पक्राउ परेका छन् । लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका उनीहरु बुधबार राति करिब १ बजेतिर थुनुवा कक्षको झ्याल उप्काएर फरार भएका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल रायमाझीका अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका घर भई हाल वीरेन्द्रनगर–११ बस्ने २१ वर्षीय सन्देश कसेरालाई रत्नराजमार्गको सत्तरीबाट, वीरेन्द्रनगर–६ का २६ वर्षीय रोशनराज रेग्मीलाई लक्ष्मी सिनेमा हल नजिकबाट र वीरेन्द्रनगर–३, का २० वर्षीय सुनिल थारुलाई शनिहल लाईनबाट पक्राउ गरिएको हो । जिप्रकासँगै कर्णाली प्रदेश प्रहरी व्यूरोको टोलीले विहीबार विहानै देखि चलाएको संयुक्त अभियानले फरार थुनुवाहरुलाई फरक–फरक समयमा, फरक–फरक स्थानबाट पक्राउ गरिएको सूचना अधिकारी रायमाझीले बताए ।


यता प्रहरीले समातिसकेपछि भागेका थुनुवाहरुले  हिरासत भित्र लागुऔषध खान नपाएर झ्याल तोडेर भागेको बयान दिएको उनको भनाइ छ । प्रहरीले फरार थुनुवा रेग्मीलाई चैत १६ गते ४ ग्राम १५० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको थियो भने सोही दिन थारुलाई १२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो । । त्यस्तै कसेरा गत फागुन २५ गते ५ ग्राम २०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए । विहीबार नै जिप्रका सुर्खेतको हिरासत कक्षबाटै थुनुवा फरार भएपछि कर्णाली प्रदेश प्रहरी कार्यालयले छानविन गर्न प्रहरी उपरीक्षक (एसपी)  भोलाबहादुर रावलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति समेत गठन गरेको थियो ।

Translate »