पश्चिम सुर्खेतमा अन्तर पालिका आवतजावत प्रतिबन्ध

स्काई न्यूज/ चैत २४, सुर्खेत ।
पश्चिम सुर्खेतका तीन वटै स्थानीय तहले एकआपसमा आवतजावत गर्न प्रतिबन्ध लगाएका छन् । कोभिड–१९, को रोमथाम तथा नियन्त्रणबाट उत्पन्न परिस्थिति भन्दै उनीहरुले अन्तर पालिका आवातजावतलाई प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण सरकाले देश नै लकडाउन गरेको परिप्रेक्षमा पश्चिम सुर्खेतका तीन वटै स्थानीय तहको समन्वयमा सर्वसाधारणको आवातजावत अनिश्चितकालका लागि प्रतिबन्ध लगाउनु परेको पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले बताए । उनले चौकुने गाउँपालिकासँगै पूर्वी तर्फ बराहताल गाउँपालिकाको समन्वयमा अन्तर पालिका आवातजावतलाई प्रतिबन्ध लगाईएको जनाए ।

 

उनका अनुसार नेपाल सरकारले अन्तर जिल्ला, पालिकामा जान प्रतिबन्ध गरेको भोलिपल्ट नगरपालिकाले यस्तो निर्णय गरेको हो । कोरोना भाइरसको उच्च जोखिम बढ्दै गएको भन्दै ११ वटै वडामा लकडाउन कार्यान्वयन भईरहेको उनको भनाइ छ । नगरपालिकाका ११ वटै वडामा सरकारको नीति अनुसार एक वडाबाट अर्को वडा जान प्रतिबन्ध लगाइएको नगरप्रमुख थापाले बताए । उनले लकडाउन उल्लंघन हुन नदिन र लुकीछिपी आउने कोरोना संक्रमित व्यक्तिलाई नगर प्रवेशमा रोक लगाउन मुख्य–मुख्य नाका बन्द गर्नुका साथै सुरक्षा व्यवस्था कडाई गरिएको जनाए । बिरामी, स्वास्थ्यकर्मी, र अत्यावश्यक काममा खटिएकाको हकमा भने प्रतिबन्ध लागु नहुने उनले जानकारी दिए । ‘कर्णाली प्रदेश सरकारले कोरोना रोकथामका लागि चौकुने, पञ्चपुरी र बराहतालमा क्वारेन्टाइनसँगै सालकोटमा आइसोलेसन स्थापना गरेका छौं,’ उनले भने, ‘लकडाउनले यातायातका सवारी साधन बन्द भएपछि भारतबाट कैलालीको चिसापानी हुँदै दैनिक सयौंको संख्यामा पैदल यात्रु पश्चिम सुर्खेतमा भित्रिन थालेपछि प्रदेश सरकारको समन्वयमा क्वारेन्टाइनसँगै आईसोलेसन स्थापना गरेका हौं ।’

प्रदेश सरकारको समन्वयमा सञ्चालनमा ल्याईएको ती क्वारेन्टाइनका लागि आवश्यक खाद्यान्न, सुरक्षा र भौतिक पूर्वाधारको व्यवस्था मिलाईएको उनी बताउँछन् । ‘कर्णाली राजमार्ग सञ्चालनमा आउनु अघिसम्म अछाम, दैलेख, कालिकोट, बाजुरा, मुगु एवं जुम्लालगायतका जिल्लाका नागरिकहरु कैलालीको चिसापानी, सुर्खेतका कुईने, घाटगाउँ, कुमाला, विजौरा, गोवरा, लगाम हुँदै पैदल यात्रा गर्दथे,’ उनले भने, ‘त्यसैले कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग कैलालीबाट सुर्खेत प्रवेश गर्ने पैदल यात्रुमाथि कडा निगरानी गरि भारतबाट स्वदेश फर्किने कर्णालीका नागरिकलाई केही दिन उतै राखि दिन समेत आग्रह गरेको छु ।’ उनले कोभिड–१९, विरुद्धको रोकथाम तथा नियन्त्रणका अभियानका लागि यस क्षेत्रका सर्वसाधारणको समेत उत्साहजनक समर्थन एवं सहयोग रहेकाले कोरोना भित्रिन् नदिने बताए ।

Translate »