कोरोना त्रास : पश्चिम सुर्खेतका सबै नाका बन्द

अन्तर पालिका आवतजावतमा समेत प्रतिबन्ध

स्काई न्यूज /चैत २६, सुर्खेत ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि पश्चिम सुर्खेतसँग जोडिएका कैलाली, डोटी र अछाम जिल्ला जोड्ने सडक एवं झोलङ्गे पुलहरु काँडेतार लगाएर बन्द गरिएको छ । सरकारले हालै लकडाउनमा कडाई गर्नलाई एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नपाईने निर्णय गरेपछि पश्चिम सुर्खेतका तीन वटै स्थानीय तहले एकआपसमा आवतजावत गर्न प्रतिबन्ध लगाएका हुन् । छिमेकी जिल्ला कैलालीमा कोरोना संक्रमणको संख्या बढ्न थालेपछि यसको त्रास पश्चिम सुर्खेतका स्थानीय तहहरुमा बढ्न थालेकाले कैलाली, डोटी एवं अछामबाट पश्चिम सुर्खेत भित्रिने सडक तथा झोलङ्गे पुलहरु अनिश्चितकालका लागि बन्द गरिएको पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले बताए । उनले भारतबाट फर्केकाहरु कैलाली चिसापानीको बाटो हुँदै पैदल पश्चिम सुर्खेतमा आवत–जावत गर्ने क्रम नरोकिएपछि स्थानीय तहहरुको समन्वयमा सडक एवं झोलङ्गे पुलहरुमा काँडेतार लगाएर आवागमन बन्द गर्नु परेको जानकारी दिए । उनका अनुसार बिरामी, स्वास्थ्यकर्मी, र अत्यावश्यक काममा खटिएकाको हकमा भने यो प्रतिबन्ध लागु हुने छैन् ।


यती खेर भारतबाट आएकाहरु पश्चिम सुर्खेतसँगै कर्णालीका पहाडी जिल्लाका गाउँघर भरिभराउ रहेका छन् । चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले लकडाउन उल्लंघन हुन नदिन र लुकीछिपी आउने व्यक्तिलाई गाउँ प्रवेशमा रोक लगाउन मुख्य–मुख्य नाका बन्द गर्नुका साथै सुरक्षा व्यवस्था कडाई पारिएको बताए । लकडाउनले यातायातका सवारी साधन बन्द भएपछि भारतबाट कैलालीको चिसापानी हुँदै दैनिक सयौंको संख्यामा पैदल यात्रु पश्चिम सुर्खेतमा भित्रिन थालेपछि प्रदेश सरकारको समन्वयमा क्वारेन्टाइनसँगै छिमेकी गाउँ सालकोटमा आईसोलेसन समेत स्थापना गरिएको उनले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारको समन्वयमा सञ्चालनमा ल्याईएका ती क्वारेन्टाइनका लागि आवश्यक खाद्यान्न, सुरक्षा र भौतिक पूर्वाधारको व्यवस्था मिलाईएको छ । कर्णाली राजमार्ग सञ्चालनमा आउनु अघिसम्म अछाम, दैलेख, कालिकोट, बाजुरा, मुगु एवं जुम्लालगायतका जिल्लाका नागरिकहरु कैलालीको चिसापानी, पश्चिम सुर्खेतको गुटु हुँदै पैदल यात्रा गर्दथे ।

Translate »