लोकसेवाका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित
चैत्र २६, काठमाडौं । स्वास्थ्य महामारी बनिरहेको कोभिड-१९ को सङ्क्रमण जोखिम र देशव्यापी घोषणा गरिएको लक डाउनका कारण लोकसेवा आयोगले सबै लिखित परीक्षा एवम् अन्तर्वार्ताका कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ ।
आयोगले सूचना जारी गर्दै कोभिड-१९ का कारण उत्पन्न भएको स्वास्थ्य-सुरक्षा संवेदनशीलतालाई ध्यान दिदैं पूर्व निर्धारित सबै परीक्षा कार्यक्रमहरु हाललाई स्थगित गरिएको जनाएको हो ।
यसअघी आयोगले चैत्र मसान्तसम्मका लागि तय भएका सबै परीक्षा कार्यक्रमहरु स्थगित गरेको थियो । आयोगले पूर्व स्थगन गरिएका सबै परीक्षा र २०७७ सात बैशाख १ गतेदेखि आयोगबाट सञ्चालन हुने लिखित परीक्षा एवम् अन्तर्वार्ता र आयोगले आर्थिक बर्ष २०७६/०७७ को बार्षिक कार्यतालिका अनुसार यहि चैत्र महिनाको अन्तिम वुधवार प्रकाशन गर्नुपर्ने रा प अनंकित द्वितिय श्रेणीका प्राविधिक पदहरुको विज्ञापन पनि अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ । स्थिति सामान्य भइसकेपछि सबै स्थगित परीक्षा लिइने आयोगले जनाएको छ ।