आइतवारदेखि भरी ग्यास सिलिण्डर वितरण गर्दै निगम

काठमाडौं । नेपाल आयल निगमले आइतवारदेखि भरी ग्यास सिलिण्डर विक्री वितरण गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बुधवार बसेकोे बैठकले १४ दशमलव २ किलो (पूरै भरी) को सिलिण्डर ग्यास विक्री वितरण खुला गर्ने निर्णय गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अुनसार बिहीवारदेखि नै उद्योगीलाई ग्यास भर्न दिइने छ ।

पछिल्लो केही दिनयता आधा सिलिण्डर ग्यासको विक्री कम भएको जनाउँदै उद्योगीले भरी ग्यास वितरणका लागि निगमसँग आग्रह गरेका थिए । उद्योगीको माग र भण्डारगृह भरिएकाले निगमले भरी सिलिण्डर विक्रीको निर्णय गरेको उनले बताए ।

बजारमा ग्यासको अभाव सिर्जना भएको जनाई निगमले यही चैत १६ गते अपराह्न १ बजेदेखि आधा (७ दशमलव १ किलो) को ग्यास सिलिण्डर विक्री गर्न उद्योगलाई निर्देशन दिएको थियो ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले सबै कम्पनीका ग्यास भण्डारगृह भरिएर बुलेटमै ग्यास राखिँदै आएको बताए । उनका अनुसार देशभरका ५९ ग्यास उद्योगमा करीब १० हजार मेट्रिक टन क्षमता रहेकामा हाल सबैको भण्डारगृह भरिएकाले १०० बुलेटमा ग्यास राखिएको थियो ।

‘एक साताअघिसम्म ग्यासको मागअनुसार डिपोमा ग्यास पुर्‍याउन भ्याइनभ्याइ थियो तर तीन दिनदेखि ग्यासको खपत नहुँदा डिपोमै राख्नुपरेको छ’, उनले भने, ‘आधा सिलिण्डर ग्यास विक्री हुन थालेपछि उपभोक्ताहरुले ग्यास लिनै मानेका छैनन् ।’

ग्यास विक्रेता महासंघका कोषाध्यक्ष राजेश दाहालले काठमाडौं उपत्यकाका ३० प्रतिशत उपभोक्ताले आधा सिलिण्डर ग्यास लिनै नमानेको जानकारी दिए । रासस

Translate »