वैशाखदेखि निक्षेपमा नयाँ ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरूले आगामी वैशाखदेखि लागू हुनेगरी निक्षेपको ब्याजदर घटाउने भएका छन् । कोरोना भाइरस संक्रमण (कोभिड–१९) बाट वित्तीय क्षेत्रमा पर्ने असर कम गर्न नेपाल राष्ट्र बैंकले बैंकहरूलाई दिने कर्जाको ब्याजदर (बैंकदर) १ प्रतिशत घटाएपछि वाणिज्य बैंकहरूले सबै प्रकारका निक्षेपको ब्याजदर यसैको हाराहारीमा घटाउने निर्णय गरेका हुन् । सोहीअनुसार बैंकहरूले नयाँ ब्याजदरको विवरण सार्वजनिक गरेका छन् । उनीहरूले साधारण बचत, मुद्दती र कल डिपोजिटको ब्याजदर १ देखि साढे १ प्रतिशत विन्दुले घटाएका छन् । बैंकहरू आगामी जेठदेखि सोही दरमा कर्जाको ब्याजदरसमेत घटाउने तयारीमा छन् । यसअघि जारी गरेको ब्याजदरभन्दा अब व्यक्तिगत मुद्दती निक्षेपमा १ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा साढे १ प्रतिशत ब्याजदर कम हुनेछ । यसअघि व्यक्तिगत निक्षेपमै अधिकतम ब्याजदर ९ देखि ९ दशमलव २५ प्रतिशतसम्म दिएका बैंकले अब अधिकतम ८ देखि ८ दशमलव २५ प्रतिशतसम्म दिनेछन् । नवीकरण गर्ने ब्याजदरमा सोही दरले ८ दशमलव १० प्रतिशतदेखि ८ दशमलव ३५ प्रतिशतसम्म ब्याजदरको सुविधा दिने बताएका छन् ।

निक्षेपको ब्याजदर घटाउनेबारे नेपाल बैंकर्स संघमा २७ ओटै बैंकबीच सहमति भएको थियो । यसै आधारमा बुधवारदेखि बैंकहरूले नयाँ निक्षेपदरको सूचनासमेत सार्वजनिक गरेका छन् । पहिले जारी भएका मुद्दती निक्षेपको ब्याजदर भने सम्झौता भएकै आधारमा परिपक्व नभएसम्म सोही दरमा लागू हुन्छ । तर, नयाँ निक्षेप तथा नवीकरण हुने निक्षेप र बचतको ब्याजदर भने घट्ने नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले बताए ।

अहिले बैंकहरूसँग कुल निक्षेपको ५० प्रतिशत मुद्दती निक्षेप छ । यसमध्ये आधाजति व्यक्तिगत मुद्दती र बाँकी व्यक्तिगत छ । ३० प्रतिशत बचत खातामा पैसा छ । बाँकी कल डिपोजिट, चालू र अन्य खातामा पैसा छ ।

‘अहिले अर्थतन्त्र संकटमा छ । के गर्दा अर्थतन्त्र भत्किँदैन भनेर सोच्न जरुरी छ । राष्ट्र बैंकले उपलब्ध गराउने कर्जाको ब्याजदर (बैंकदर) ६ प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरेको छ । त्यसैले बैंकमाथि कर्जाको ब्याजदर घटाउन दबाब परेको थियो,’ दाहालले भने, ‘तर, त्योभन्दा अघि निक्षेपको ब्याजदर घटाउनुपर्ने भएकाले सबैको सहमतिमा वैशाखदेखि लागू हुने गरी नयाँ ब्याजदर घोषणा गरेको हो ।’

Translate »