डाक्टर केसीले ‘भोगालाई भोजन’ दिएपछि….

स्काई न्यूज/ चैत २८, सुर्खेत ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड–१९) को रोकथाम तथा व्यवस्थापनका लागि सरकारले जारी गरेको लकडाउनबाट मजदुरी तथा ज्यालादारी गरेर खाने वर्ग प्रत्यक्ष मारमा परेको छ । शुक्रबार कर्णालीका चर्चित बालरोग विशेषज्ञ डाक्टर नवराज केसीले लकडाउनका कारण बेखर्ची भएर भोगभोगै बस्दै आएका जुम्लाका पनराज पाण्डेलाई खान बस्नको व्यवस्था मिलाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा यस दैनिकका सम्पादक आकाशतारा बयकले बेखर्ची भएर भोगभोगै बस्दै आएका नागरिकलाई सहयोगको अपिल गरेपछि डाक्टर केसीले पनराज पाण्डेलाई बाल क्लिनिकमा सञ्चालित क्यानटिनमा ७ दिनसम्म विहानको नास्तासँगै साँझ विहानको भोजनको व्यवस्था गरेका हुन् ।

जुम्ला जिल्लाको हाकु घर भई हाल वीरेन्द्रनगर स्थित ‘खम्बा होटल’ मा काम गर्दै आएका होटल मजदुर पनराज पाण्डे लकडाउनका कारण होटल बन्द भएपछि बेखर्ची भएर विगत एक सातादेखि बालक्लिनिक र बुलबुले एफएम वीचको गणेशमान मार्ग स्थित एउटा बन्द घुम्तीको अगाडि भोगभोगै बस्दै आएका थिए । ‘लकडाउनमा भोगभोगै बस्दै आएका होटल मजदुर पनराजलाई डाक्टर केसीले भोजन उपलब्ध गराई दिएपछि खुशी हुँदै पनराजले भने, ‘जसको कोही हुँदैन, उसको भगवान हुन्छ भन्थे, हो रहेछ । मेरा लागि डाक्टर नवराज भगवान नै हुनुहुँदो रहेछ । विगत ७ दिनदेखि चाउचाउ र पानीको सहारामा ज्यान धानेको थिएँ । आज पेटभरी अन्न खान पाउँदा शरीरमा पुर्न ताजगी आएको छ ।’ उनले यो विपद्को घडीमा डाक्टर नवराजले गरेको सहयोगलाई जीन्दगीमा कहिल्यै नभुल्ने बताए ।

Translate »