सुर्खेतमा कोरोनाबारे अपवाह फैलाउने दुई जना पक्राउ

स्काई न्यूज/ बैशाख ४, सुर्खेत ।
सुर्खेतमा सामाजिक सञ्जाल फेसबुकबाट कोरोना भाइरस (कोभीड–१९) बारे भ्रम फैलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८, कालुञ्चोकका धर्मराज आचार्य र दैलेखको नौमुले गाउँपालिका–३, का प्रेम विक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । आचार्यलाई मंगलबार वीरेन्द्रनगरबाट र विकलाई बुधबार लेकबेसी नगरपालिकाबाट पक्राउ गरि सार्वजनिक शान्ति विरुद्धको कसुरको (झुठ्ठा अफवाह फैलाउन नहुने) कसुर मुद्धा चलाईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल रायमाझीले जानकारी दिए ।
उनका अनुसार आचार्यले फेसबुकमा ‘सुर्खेतमा पनि कोरोना देखियो पुष्टि हुन बाँकी’ भन्ने स्टाटस लेखेका थिए भने विकले ‘लेकबेंसी नगरपालिका वडा नं १ मा एक जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ’ भनेर फेसबुकमा पोष्ट गरेका थिए । सामाजिक सञ्जाल मार्फत समाजमा झुठ्ठा अफवाह फैलाउने दुबै जनालाई जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाईएको प्रहरीको भनाइ छ । यता सुर्खेतसहित कर्णाली प्रदेशमा हालसम्म कोही पनि कोरोना संक्रमित नरहेको प्रदेश जनस्वास्थ्य सेवा निर्देशनालयका ल्याव इन्चार्ज ओम आचार्यले जानकारी दिए ।
