पश्चिमी वायुको प्रभावले बदलीसँगै वर्षाको सम्भावना
काठमाडौं । स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभावका कारण आगामी तीन दिनसम्म मौसम बदली गराउनुका साथै देशका कतिपय भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभाव अझै सक्रिय देखिने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो । देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षा हुनसक्ने देखिएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । हाल देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली साथै पूर्वी र मध्य भू–भागमा आंशिक बदली रहेको छ । शनिवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका मध्य र पूर्वका केही स्थनका साथै पश्चिमका थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ ।
रातको समयमा पनि देशको पूर्वी भू–भागमा सामान्य बदली र मध्य तथा पश्च्मिी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पूर्वी भेग तथा मध्य र पश्चिमी पहाडी क्षेत्रका केही स्थानमा मेघर्जन, चट्याङरअसिना र हावाहुरीसहित वर्षाको सम्भावना छ । आइतवार पनि पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका भेगमा आंशिक बदली हुनेछ । पहाडी भेगका केही स्थानमा साथै तराईका एक, दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ । रातिको समयमा पनि यो क्रम जारी रहनेछ । त्यस्तै सोमवार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र अपराह्नपश्चत पहाडी भूभागका केही स्थानमा साथै तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । पछिल्लो मौसमी विवरणअनुसार शनिवार काठमाडौंको अधिकतम तापक्रम २७ दशमलव आठ र न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस छ । बितेको २४ घण्टामा काठमाडौंमा चार मिलीमिटर वर्षा भयो । सबैभन्दा बढी सिमरामा ४४, पोखरामा २५ मिलीमिटर वर्षा भएको छ । ओखलढुङ्गामा ८, धनकुटामा ३ र धनगढीमा ७ मिलीमिटर वर्षा भएको छ । रासस