एसईई दिने विद्यार्थीका लागि कर्णालीमा ‘रेडियो कक्षा’ शुरू

स्काई न्यूज/ बैशाख १६, सुर्खेत।
कोरोना भाइरसको महामारीबाट उत्पन्न परिस्थितिका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाएका कर्णाली प्रदेशका विद्यार्थीका लागि कर्णालीका विभिन्न सामुदायिक रेडियोहरुबाट पठनपाठन शुरु गरिएको छ । लकडाउनका कारण विद्यालय पनि बन्द रहेका र व्यक्ति–व्यक्तिबीचको दूरी पनि कायम राख्नुपर्ने भएकाले ‘रेडियो कक्षा’ शुरु गरिएको हो ।
सामुदायिक रेडियोहरुले शिक्षासँग सरोकार राख्ने विभिन्न निकायसँगको समन्वयनमा पठनपाठन शुरु गरेका हुन् । हाल अबको एक महिना रेडियोमार्फत विद्यार्थीले अनिवार्य विषयहरु अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषय अध्ययन गर्न पाउने भएका छन् । दैलेखको रेडियो धुर्वतारा र ज्वाला एफएमले वैशाख ७ गतेदेखि शिक्षा विकास तथा समन्वय इकाइ दैलेख, सेभ द चिल्ड्रेन÷एभरेष्ट क्लब दैलेख र स्थानीय तहहरुको समन्वयमा ‘रेडियो कक्षा’ सञ्चालन गरेको शिक्षा विकास कार्यालय दैलेखका प्रमुख तेजबहादुर थापाले जानकारी दिए ।

सुर्खेतको रेडियो जागरण र भेरि एफएमले आइतवादेखि नेपाल शिक्षक महासंघ सुर्खेतसँगको समन्वयमा पठनपाठन शुरू गरेको जागरण एफएम सुर्खेतले बताएको छ । जुम्लाको सामुदायिक रेडियो खुला आकाशले सुनापढी नामक रेडियो कक्षा चैत २६ गतेदेखि नै शुरू गरिसकेको रेडियोका स्टेशन म्यानेजर रतन नेपालीले जानकारी दिए । ‘एसईई परिक्षाको पर्खाइमा रहेका विद्यार्थी र आधारभुत तहका बालबालीकाका लागि छुट्टा–छुट्टै कक्षा शुरु गरिएको छ,’ नेपालीले भने ।कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाले आफूले नै स्थापना गरेका एफएम रेडियोमार्फत पढाइ शुरु गरेको छ । यस्तै मुगुको रेडियो सौर्यदयले पनि कार्यक्रम शुरु गरिसकेको छ भने जाजरकोटको भेरी नगरपालिकाले रेडियो खलङ्गा एफएममार्फत ट्युसन कक्षा कार्यक्रम केही दिनमै शुरु गर्न लागिएको बताएको छ ।
‘रेडियो कार्यक्रमले विद्यार्थीलाई एसईई तयारीमै ध्यान केन्द्रित गर्ने अवसर प्रदान गर्छ,’ कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले भने, ‘शिक्षकहरु पनि सञ्चार सम्पर्कबाट विद्यार्थीसँग रहँदा थप प्रभावकारी हुने विश्वास गर्दछु ।’ शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशकी निमित्त निर्देशक दिपा हमालले रेडियो कार्यक्रममले कुना–कन्दरामा रहेका विद्यार्थीलाई निकै सहयोग गर्ने भएकाले महत्वपूर्ण भएको बताइन् । शिक्षा विकास निर्देशनालयका अनुसार यसपालि कर्णालीका ३६ हजार दुई सय ९९ जना विद्यार्थी एसईईमा सहभागी हुनेछन् ।