लकडाउनमा विद्युत महशुल संकलन काउण्टर खुल्दै

मंगलबारदेखि सुर्खेतका सबै काउण्टरबाट विद्युत महशुल बुझाउन सकिनेछ

स्काई न्यूज /बैशाख २९, सुर्खेत ।
बन्दाबन्दीमा पनि नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले विद्युत महशुल संकलन काउण्टर खोल्ने भएको छ । लकडाउनका कारण विद्युत महशुल नगन्य मात्रा संकलन भएपछि  केन्द्रले मंगलबारदेखि सामाजिक दुरी कायम गर्दे विद्युत महशुल संकलन काउण्टर सञ्चालनमा ल्याउन लागेको हो । अर्को सूचना प्रकासित नहुन्जेलसम्मका लागि सुर्खेत वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण काउण्टरहरु विहान १० देखि २ बजे सम्म सञ्चालनमा ल्याउन लागिएको सुर्खेत वितरण केन्द्र प्रमुख टंकराज गिरीले जानकारी दिए । ‘सम्भव भएसम्म अनलाईन भुक्तानी गर्न सम्पूर्ण ग्राहक वर्गमा अनुरोध गरेका छौं,’ उनले भने, ‘यदी अनलाईन भुक्तानी गर्न नसकिने अवस्थामा सामाजिक दूरी कायम गर्दे सुरक्षाका उपाय अपनाएर प्राधिकारका सबै काउण्टरबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाएका छौं ।’ उनले विद्युत भुक्तानी महशुल काउण्टरमा बुझाउन आउँदा अनिवार्य रुपमा विद्युत ग्राहक कार्ड ल्याउन सुझाव दिएको जनाए । सवारी साधन प्रयोगकर्ताको हकमा भने सवारी साधन पास प्रयोग गरेर मात्र महशुल बुझाउनु पर्ने जिल्ला प्रशासन कार्यालयको निर्देशन रहेको उनको भनाइ छ ।

प्राधिकरणको सुर्खेत वितरण केन्द्रले वीरेन्द्रनगर नगरपालिकाका वडा नम्वर १ देखि ५ सम्म आईतबार र सोमबार, वडा नम्वर ६ देखि १० सम्म मंगलबार र बुधबार तथा वडा नम्वर ११ देखि १४ सम्मका ग्राहकसँगै लेखबेसी नगरपालिकाका ग्राहकले समेत विहीबार र शुक्रबार वीरेन्द्रनगर काउण्टरबाटै महशुल भुक्तानी गर्न सकिने जनाएको छ । त्यस्तै भेरीगंगा नगरपालिकाका सबै वडाका ग्राहकले आइतबार, सोमबार र मंगलबार प्राधिकरणको छिन्चु काउण्टरबाट विद्युत भुक्तानी महशुल बझाउन सक्ने छन् । त्यसैगरी छिन्चु काउण्टरबाटै लेखबेशी नगरपालिकाका सबै वडाका ग्राहकलाई बुधबार, विहीबार र शुक्रबार विद्युत भुक्तानी गर्न सकिने व्यवस्था मिलाईएको छ । यस्तै प्राधिकरणको जहरे काउण्टरबाट गुर्भाकोट नगरपालिकाका सबै वडाका ग्राहकले आइतबार, सोमबार र मंगलबार विद्युत महशुल भुक्तानी गर्न सक्ने छन् । यसैगरी जहरे काउण्टरबाटै भेरीगंगा नगरपालिकाका सबै वडाका ग्राहकले बुधबार र विहीबार विद्युत महशुल भुक्तानी गर्न पाउने सुविधा प्राधिकरण मिलाएको छ भने जहरे काउण्टरबाटै लेकबेसी नगरपालिकाका सबै वडाका ग्राहकले शुक्रबार विद्युत महशुल बुझाउने सक्ने प्राधिकरण सुर्खेत वितरण केन्द्रको भनाइ छ ।

Translate »