वीरेन्द्रनगरमा औद्योगिक क्षेत्रका उद्योगहरू खुल्न थाले

बैशाख ३०,सुर्खेत ।

सरकारले लकडाउन खुकुलो बनाउँदै अत्यावश्यक वस्तु तथा सेवाका उद्योग सञ्चालन गर्न अनुमति दिएपछि वीरेन्द्रनगर औद्योगिक क्षेत्रका उद्योगहरू खुल्न थालेका छन् ।वीरेन्द्रनगर औद्योगिक क्षेत्रका अनुसार यहाँका २७ मध्ये सात उद्योग सञ्चालनमा आएका छन् । वीरेन्द्रनगर औद्योगिक क्षेत्रका प्रमुख जीवनारायण बञ्जाडेले पानी, दूध, कुखुरापालन, काठसम्बन्धी उद्योगहरूले आंशिक उत्पादन शुरु गरेको बताए । ‘कच्चा पदार्थ आपूर्ति, मजदूर र यातायातको सुविधा नभएकाले सबै उद्योग सञ्चालन आउन सकेका छैनन्,’ उनले भने, ‘खुलेका उद्योगले पनि तत्काल कच्चा पदार्थ पाउन समस्या देखियो ।’ कच्चा पदार्थ ढुवानी र मजदुर आवतजावतमा समस्या भएकाले सहजरूपमा सञ्चालन हुने अवस्था नरहेको प्रमुख बञ्जाडेको भनाइ छ ।

राधाकृष्ण उड इन्डस्ट्रिजका सञ्चालक उद्यम बस्नेतले आफूले उद्योग खोले पनि अझै वातावरण सहज नभएको गुनासो गरे । कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्ने भएकाले उद्योग खोल्नुको मात्रै अर्थ नरहेको उहाँले बताए ।  छिमेकी जिल्ला बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमण फैलिएपछि कर्णाली प्रदेश सरकारले एक साताका लागि प्रदेश सिल गरेको छ । जसले गर्दा यहाँका उद्योगले कच्चा पदार्थ ल्याउन पाएका छैनन् ।

Translate »