आव २०७७/ ७८ सम्ममा भूकम्पपछिको पुनर्निर्माण सक्ने सरकारको नीति

जेठ ३, काठमाडौं ।

पाँच वर्षअघिको भूकम्पले क्षति पुर्‍याएका संरचनाको पुनर्निर्माण आर्थिक वर्ष २०७७/ ७८ सम्ममा सम्पन्न गरिसक्ने नीति सरकारले लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आर्थिक वर्ष २०७७/ ७८ को नीति तथा कार्यक्रममा पुनर्निर्माणका बाँकी काम आगामी आर्थिक वर्षमा सक्ने उल्लेख गरिएको छ ।पुनर्निर्माण गर्न आवश्यक निर्माण सामग्रीका लागि नीतिगत र कानूनी व्यवस्था गरी निर्माण सामग्रीको सहज आपूर्तिका लागि सम्भाव्य एवं उपयुक्त उत्पादन केन्द्र तोकिने नीति सरकारको रहेको उल्लेख छ ।


हालसम्म ४ लाख ९५ हजार निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ । क्षतिग्रस्त ७५३ पुरातात्विक सम्पदामध्ये ४०२ को पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्पले भत्किएको ऐतिहासिक धरहराको ४० र रानीपोखरीको ७० प्रतिशत पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ । नदी कटान र वातावरणमा प्रतिकूल प्रभाव नपर्ने गरी नदीजन्य निर्माण सामग्रीको सहज आपूर्ति हुने व्यवस्था गरी पुनर्निर्माणको कामलाई तीव्रता दिइने सरकारको नीति छ ।

Translate »