स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकता दिनेगरी कर्णाली प्रदेश सरकारले बजेट ल्याउने

‘स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगार, कर्णाली समृद्धिका लागि दिगो पूर्वाधार’ नारा तय

जेठ ४,सुर्खेत ।

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७/ ७८ का लागि स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकता दिनेगरी बजेट ल्याउने भएको छ। कर्णालीका नागरिकलाई रोग र भोकबाट जोगाउने लक्ष्यसहितको बजेट ल्याउने तयारी भइरहेको सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए । चालू आर्थिक वर्षका लागि रू.३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार बजेट ल्याएको सरकारले यो आर्थिक वर्षका लागि पनि  रू.३५ अर्बको बजेट ल्याउने भएको छ । समानीकरण अनुदान मार्फत प्राप्त हुने रू.१० अर्ब, राजस्व बाँटफाँडबात प्राप्त हुने रू.७ अर्ब ३९ करोड (अनुमानित), समपूरक र विशेष अनुदानमार्फत  संघीय सरकारबाट रू.१ अर्ब प्राप्त हुने मन्त्री ज्वालाले जानकारी दिए ।

साथै प्रदेश सरकारसँग कम्तीमा रू.१० अर्ब बजेट बचत हुने हुँदा कम्तीमा रू.२९ अर्ब बजेट सरकारले नै विनियोजन गर्न सकिने भन्दै बढीमा रू.३५ अर्बको बजेट ल्याउने तयारी भइरहेको उनले बताए । ‘स्वास्थ्य र कृषिलाई मुख्य प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेका छौं,’ उनले भने । सबैभन्दा पहिले जनस्वास्थ्य क्षेत्रका लागि बजेट विनियोजन गरेर अस्पतालमा भौतिक संरचनाको विकास गर्ने, सामग्री खरदी गर्ने, आईसीयू, भेन्टिलेटर थप्ने, बेडहरूको व्यवस्थापन गर्ने, स्वास्थ्यकर्मीको संख्या बढाउने वा करारमा कर्मचारी नियुक्ति गर्ने र आम नागरिकलाई स्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने सरकारको मुख्य उद्देश्य रहेको उनले बताए ।

रोग नियन्त्रणपछि सरकारको प्राथमिकता भोक निवारणमा भएकाले उत्पादन र रोजगारी वृद्धि  गर्ने, नागरिकले काम गर्ने र जीविकोपार्जन गर्ने खालका योजना निर्माणमा बजेट केन्द्रित गरिने उनले बताए । यस्तै रैथाने बालीको संरक्षण, सम्वर्द्धन, बजारीकरण, आवश्यक खाद्यवस्तु उत्पादन, खाद्य डिपो सञ्चालन जस्ता कार्यक्रम ल्याउनेगरी सरकार अघि बढेको मन्त्री ज्वालले अभियानलाई  बताए ।

‘स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगार : कर्णाली समृद्धिका लागि दिगो पूर्वाधार’ नाराका साथ बजेट ल्याउन लागिएको जानकारी उनले दिए । ‘अत्यावश्यक भौतिक पूर्वाधारमा लगानी जानेछ, अनावश्यक योजनामा बजेट गएको भए हेरफेर हुनेछ,’ उनले भने, ‘क्रमागत आयोजनालाई पनि बजेट जानेछ, व्यावसायिक उत्पादन र सुरक्षामा ध्यान दिने  बजेट आउँछ । यो वर्षको बजेट वितरणमुखी हुँदैन ।’ मन्त्री ज्वालाले चालू आर्थिक वर्षको बजेट ६० प्रतिशत खर्च गर्ने दाबी गरे । ‘प्रदेशमा ठूला विकास निर्माणका काम हुने भनेकै चैतदेखि नै हो । यो वर्ष कोरोनाले कामै गर्न दिएन,’ उनले भने, ‘अहिलेकै जस्तो कोरोना देखिएन भने हामी बढीमा ६० प्रतिशत बजेट खर्च गर्न सक्छौं ।’

Translate »