लकडाउनमा पनि कर्णालीमा विकास निर्माणको काम नरोकिने

जेठ ११, सुर्खेत ।

कोरोना भाइरसको संक्रमणको डरका कारण गरिएको लकडाउनमा पनि कर्णाली प्रदेशमा विकास निर्माणको काम नरोकिने भएका छन् । कर्णाली प्रदेश विपद् व्यवस्थापन समितिको शुक्रवार बसेको बैठकले विकास निर्माणका कामहरुलाई निरन्तरता दिने जसका लागि आवश्यक जनशक्ति ओसारपसार गर्न  दीने निर्णय गरेको छ ।

बैठकले प्रदेश सरकारको नीति अनुरुप आयोजना विशेषका लागि आवश्यक पर्ने निर्माण सामग्री र सीपयुक्त जनशक्ति (प्राविधिक जनशक्ति) जिल्ला बाहिरबाट ल्याउनुपर्ने अवस्थामा आयोजना संचालन हुने जिल्लाको जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरेपछि जनशक्ति र निर्माण सामग्री सहज आगमनको व्यवस्था मिलाउने निर्णय गरेको हो ।जनशक्तिको कोरोना परीक्षणपश्चात मात्रै निर्माणस्थल लगिनेछ । विकास आयोजना संचालन गर्न प्रदेश बाहिरबाट ल्याउने जनशक्तिको आवश्यक परीक्षण गरी स्वास्थ्य सुनिश्चितता गर्ने र त्यसरी ल्याइएका व्यक्तिहरुलाई आयोजना स्थलसँगै समूह अलगावमा राख्ने समेतको व्यवस्था सम्बन्धित आयोजना र निर्माण व्यवसायीले मिलाउने छ ।

निर्माणजन्य, खाद्य तथा कृषि र पशुजन्य सामग्री पर्याप्त सुरक्षा प्रत्याभूति गरेर मात्र ढुवानी प्रबन्ध गर्ने, जोखिमयुक्त क्षेत्रबाट त्यस्ता सामग्रीको आगमन हुन नदिने, निर्माण र खाद्य सामग्री उद्योग वा कारखानाबाट सोझै सवारी साधनमा लोड हुने प्रबन्ध मिलाउने, प्रदेश भित्र प्रवेश गर्ने भारतबाट र स्वदेशकै जोखिमयुक्त क्षेत्रबाट आएका व्यक्तिहरुको सम्पूर्ण विवरण अद्यावधिक गरी तिनीहरुको उद्धार तथा यातायात व्यवस्था सहित सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा पुर्‍याउने कार्य आन्तरिक मामिला तथा कानून मन्त्रालयले गर्नेछ ।

भारतबाट आउने व्यक्तिहरु बिना परीक्षण प्रदेशमा प्रवेश गरेको अवस्थामा प्रदेशको प्रवेश विन्दुमै आरडीटी परीक्षण र सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा राखेपछि तोकिएको समय पश्चात पीसीआर परीक्षणको प्रबन्ध सामाजिक विकास मन्त्रालयले मिलाउने निर्णय बैठकले गरेको छ ।भारतबाट आउने नेपालीहरुलाई सीमा नाकामै परीक्षण गरी संक्रमण नदेखिएका व्यक्तिलाइ मात्र आफ्नो प्रदेश र जिल्ला पठाउने व्यवस्था गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

Translate »