कर्णालीका मुख्यमन्त्रीले सुरक्षाकर्मी र गाडी फिर्ता गरे
स्काई न्यूज /जेठ ११, सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा खटिएका प्रहरी र गाडी फिर्ता गरेका छन् । कर्णालीमा कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण र उपचारमा सहयोगका लागि प्रहरी परिचालन गर्न सहज होस् भन्ने उद्देश्यले आफ्नो सुरक्षामा खटिएका प्रहरी र पछुवा गाडी फिर्ता गरेको उनले बताए । विद्यमान समयमा आफ्नो व्यक्तिगत सुरक्षाका लागि भन्दा पनि कोरोना संक्रमण नियन्त्रणमा भूमिका खेल्न आवश्यक रहेकाले सुरक्षाकर्मी फिर्ता गरेको उनको भनाइ छ ।
उनको सुरक्षाका लागि ७ जना प्रहरी खटाईएको थियो । तर उनले सबै प्रहरी फिर्ता गरेका छन् । ‘अहिले आफ्नो सुरक्षाभन्दा पनि जनताको स्वास्थ्य र सुरक्षा गर्नु महत्वपूर्ण ठानेको छुँ । कोरोनाकै कारण जनतामा भाइरस संक्रमणसँगै त्रास बढ्दै गएको छ,’ उनले भने, ‘हाल प्रदेश राजधानी सुर्खेतमै क्वारेन्टाइनको व्यवस्थापन, संक्रमितलाई अस्पताल लाने लगायतका विभिन्न काममा खटिने सुरक्षाकर्मीको संख्या कम छ । त्यसैले यो बेला व्यक्तिगत सुरक्षाका लागि धेरै सुरक्षाकर्मी राख्न आवशयक ठानिन ।’