कर्णाली प्रदेशसभाको बजेट अधिवेशन शुरू
जेठ १२,सुर्खेत ।
कर्णाली प्रदेश सभाको बजेट अधिवेशन आइतवारदेखि शुरू भएको छ । बजेट अधिवेशन प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पठाएको पत्र सुनाएर सभामुख राजबहादुर शाहीले सञ्चालन गरेका थिए ।बैठकमा संघीय सरकारले भारतद्वारा अतिक्रमित लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितका नेपाली भूभाग समेटेर नक्सा गर्नु ऐतिहासिक कदम भएको भन्दै संघीय सरकारलाई कृतज्ञता व्यक्त गरिएको छ । लामो समयदेखि अतिक्रमित नेपाली भूमिसहितको नयाँ नक्सा जारी गर्नु संघीय सकारको प्रर्शनीय कार्य भएको नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए ।
यस्तै कोरोना भाइरसका कारणले विभिन्न ठाउँमा रहेका आफ्ना नागरिकलाई उद्धारका नाममा राज्यको सम्पत्ति सकेर आफ्नै निजी खर्चमा उद्धार गरे जस्तो प्रचार नगर्न उनले सम्बन्धित जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन् । अहिले सरकारले राम्रो काम गर्न नसक्दा विश्वास समेत लाग्न छाडेको बताए । ‘सरकारले तत्काल आफ्ना नागरिक ल्याउन जरुरी छ । कोरोना गरीब निमुखालाई मात्रै लाग्दैन,’ उनले भने, ‘सरकारले जनतालाई पक्षपात नगरोस् । आफ्ना स्थानमा मात्रै डाक्टर पठाउने काम नगरौं ।’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् प्रदेशसभा सदस्य यामलाल कँडेलले छिमेकी देशले कोरोना महामारी जस्तो मौका छोपेर नेपालको भूभाग हडप्न खोजेको टिप्पणी गरे । ‘यो परिस्थितिमा नीति तथा कार्यक्रममै उल्लेख गरी सरकारका तर्फबाट नयाँ नक्सा जारी गर्ने काम ऐतिहासिक हो,’ उनले भने, ‘संघीय सरकारले हिम्मत राखेको छ ।’ अहिलेको संकटलाई ध्यानमा राख्नै जथाभावी बजेट बाँड्न नहुने उनले औंल्याए । ‘कोरोना आतंक कहिलेसम्म रहने हो, निश्चित छैन,’ उ नले भने, ‘ढुकुटी सकिँदै गयो अवस्था के होला ?’
नेता कँडेलले सामाजिक दूरी कायम गरेर भए पनि विकास निर्माण लगायत काम गर्नुपर्ने बताए । ‘बन्दाबन्दीबाट निश्चित व्यक्तिले फाइदा लिएका छन् । निर्माण सामग्री प्रयोग भइरहेका छैनन्, मूल्य बढेको बढ्यै छ, यसमा सरकारले समन्वय गर्न आवश्यक छ,’ उनले भने, ‘निर्माण व्यवसायीले अहिले कोरोना भन्ने बहाना पाएका छन् । त्यसैले सामाजिक दूरी कायम गरेर भए पनि काम गराउनुपर्छ ।’ सांसद शोसिला शाहीले कोरोना रोकथामका लागि समयमै ध्यान दिन नसके भोलि भयावह अवस्था आउन सक्ने औंल्याइन् । प्रदेशको अबको बजेट उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर आउनुपर्ने उनको भनाइ थियो ।