बाँके दुर्घटनामा मृत्यु भएका १२ जनाकै सनाखत

स्काई न्यूज/जेठ १९, बाँके ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ ठूरिया जंगलमा गएराति भएको सवारी दुर्घटनामा मृत्यु भएका १२ जनाकै सनाखत भएको छ ।  मृत्यु हुनेहरुमा दैलेख गुराँस गाउँपालिका–४, का गाडी चालक दानबहादुर खड्का, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३, तातापानीका सह–चालक पवन भण्डारी, रोल्पा थबाङ–३, का भिबहादुर विक र नरेन्द्र विक, रोल्पा रुन्टीगढी–६, होलेरीका मोहनचन्द्र विक, दाङको राजपुर–६, का रामकुमार पुन र ठेगाना नखुलेका निमबहादुर ओली, देउविर विक, बुद्धि,राम विक, पूर्णबहादुर पुन, सीता पुन र रितेश कार्की रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ । घाइतेहरु मध्ये १० जना सल्यान, ६ जना दाङ र ५ जना रोल्पाका रहेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत् बाँकेको राप्ती सोनारी गाउँपालिका–२, ठुरिया जंगलमा गएराति फोर्स गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । २१ जना घाइते भएका थिए । भारतको रुपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकालाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको गाडी करिब १२ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोकिएर दुर्घटना भएको थियो । घटनास्थलको प्रकृति हेर्दा तीब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

Translate »