कर्णालीका ७ जना संक्रमित कोरोना जितेर फर्के

स्काई न्यूज /जेठ २३, सुर्खेत ।
पहिलो पल्ट कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतबाट संक्रमितमध्ये ७ जना कोरोना भाइरस (कोभिड–१९) लाई पछार्न सफल भएका छन् । जेठ पहिलो साता संक्रमण पुष्टि भएर प्रदेश अस्पताल सुर्खेतस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक करिब ३५ वर्षीया महिलासहित ६ जना पुरुष आज निको भएर डिस्चार्ज भएका हुन् । कोरोना विशेष अस्पतालका अनुसार ठेगाना नखुलेकी बोल्न नसक्ने एक महिलासहित एक जना पुरुष दैलेख र बाँकी सबै युवा सुर्खेतका स्थानीय रहेका छन् । प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले कोरोना विशेष अस्पतालको आईसोलेसनमा उपचाररत ६७ जना मध्ये निको भएर शुक्रबार ७ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए ।

उनले सङ्क्रमितहरुलाई आइसोलेशनमा राखेर उपचार गरिएकाले आत्मबल बढाउने सुझाव समेत दिईएको बताए । कोरोना जितेर घर फर्कन पाएकोमा डिस्चार्ज भएकाहरुले खुशी व्यक्त गरेका छन । सुर्खेतका एक पुरुषले कोरोना लागिहालेमा नआत्तिएर आत्मबल बलियो बनाउन सके पराजित गर्न सकिने बताए । उनले रोग लाग्नासाथ मरिन्छ भन्ने भावना हटाएर शारीरिक व्यायाम, खानपानमा सचेत रहनुपर्ने सुझाव दिए । कोरोना जितेर फर्किनेको विदाईमा कर्णालीका प्रदेशका सामाजिक विकास मन्त्री दल रावल, कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रिता जोशी भण्डारी, प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्मर खड्का, जन स्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेलगायतको सहभागिता रहेको थियो ।

Translate »