सार्वजनिक यातायात बन्द भएपछि मजदुर मर्कामा

स्काई न्यूज /जेठ, २६ सल्यान ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा गरेपश्चात् दैनिक मजदुरी गर्दै आएका विपन्न परिवारसँगै यातायात क्षेत्रका मजदुरहरू पनि मारमा परेका छन् । लकडाउनका कारण सवारीसाधन सञ्चालन नहुँदा उनीहरुलाई दैनिक आम्दानीको अभाव सृजना भएको छ । नीजि सवारी चलाउने मजदुरहरूको मासिक पारिश्रमिक आउने भएपनि सार्वजनिक यातायातको क्षेत्रमा काम गर्ने अधिकांश मजदुरहरूको दैनिक गुजारा काम गरेको दिनको भत्ताबाट मात्रै चलिरहेको हुन्छ । तर, करीब साढे दुई महीनादेखिको निरन्तर लकडाउनका कारण सार्वजनिक यातायात ठप्प हुँदा उनीहरूको आम्दानी पनि टुटेको छ । दैनिक आम्दानीको स्रोत बन्द भएपछि अहिले दैनिकी चलाउन समस्या भएको यहाँस्थित बागचौरका सवारीचालक मानबहादुर योगीले बताए ।

लकडाउनका कारण सार्वजनिक सवारीसाधनमा काम गर्ने चालक, सहचालक सबैभन्दा बढी मर्कामा परेको उनको गुनासो छ । ‘गाडी चल्दा दैनिकरूपमा भत्ता आउँथ्यो । त्यसैले आप्mनो खर्चसँगै घरखर्च पनि चलाउन सजिलो हुन्थ्यो’, योगीले भने, ‘तर करीब ३ महीना पुग्न लाग्यो, गाडी गुड्न पाएका छैनन्, यस्तो अवस्थामा गाडी मालिकले भत्ता दिने कुरा पनि भएन्, अहिले हामीलाई धेरै समस्या भएको छ ।’ गाडीचालक र सहचालकको काम गरेबापतको तलव नहुदाँ समस्या भएको माल्नेटाका भूपाल बिकले बताए । विगत २५ वर्षदेखि भत्ताको भरमा जीवन निर्वाह गर्दै आएको बताउँदै उनले अहिलेजस्तो समस्या कहिल्यै नभएको सुनाए । उनका अनुसार दाङदेखि रुकुम सदरमुकामसम्म जाँदा रू। ५ हजार चालकलाई र रू। २ हजार सहचालकलाई भत्ता आउने उनले बताए । गाडी व्यवसायीसँगै यस क्षेत्रका मजदुरहरू पनि मारमा परेको बताउँछन् गाडी व्यवसायी प्रकाश भण्डारी । अहिले कै अवस्थामा गाडी सञ्चालन भएपनि पहिलेको जस्तै सहज परिस्थिति भने नहुने उनको बुझाइ छ । गाडीको मासिक किस्ता कसरी तिर्ने भन्ने समस्या रहेको व्यवसायीको गुनासो छ । जिल्लामा करीब २०० को हाराहारीमा सार्वजनिक सवारीसाधन छन् । जिल्लाभर यस क्षेत्रमा काम गर्ने करीब ४०० बढी मजदुर छन् । विगतमा विभिन्न मजदुर संगठनहरूले तपाइँहरूको साथमा छौँ भनेर नारा लगाए पनि अहिलेको परिस्थितिमा कुनै वास्ता नगरेको यातायात क्षेत्रका मजदुरहरूको गुनासो छ ।

Translate »