अछाममा प्राचीन मुङ्ग्राका धारा उत्खनन्

चैत १९, अछाम । अछामको कमलबजार नगरपालिका वडा नम्बर ७ सेरामा प्राचीन मुङ्ग्राका धारा भेटिएका छन् । वडा नम्बर ७ सेराको कुलदेवमा प्राचीन मुङ्ग्राका धाराहरू भेटिएका हुन् ।

करिब ४० बर्ष पहिलेको भीषण वर्षासंगैको पहिरोमा ऐतिहासिक धाराहरू पुरिएको स्थानीयको भनाइलाई ध्यानमा राखी वडा अध्यक्ष नृप बहादुर बोहरा र स्थानीयको पहलमा उत्खनन गर्दा ती कलात्मक धाराहरू भेटिएका वडा सदस्य बलबहादुर भण्डारीले बताए ।

वषौँ पहिले पहिरोले पुरिएको उक्त स्थान पूर्ण रुपमा उत्खनन हुन बाँकी रहेको वडा अध्यक्ष नृप बहादुर बोहराको भनाई छ । उनका अनुसार हाल कलात्मक शैलीका २ वटा आकर्षक धारा देखिएका छन् भने उत्खननको कार्य जारी रहेको छ ।

उक्त स्थान पूर्ण रुपमा उत्खनन हुन बाँकी रहेकाले अन्य संरचनाहरू समेत फेला पर्न सक्ने आँकलन गरिएको छ । शताब्दी औँ अगाडी अछामी राजा देवचन्द्र समालको राज्यकालमा सेरामा अछामको राजधानी समेत रहेको स्थानीय जानकारहरू बताउँछन् । प्राचीन कालमा भोटे राजाले राज गरेको स्थान समेत सेरा रहेको र कुलदेवमा उनीहरूले निर्माण गरेको धाराहरू पहिरोले पुरिएको छन् भन्ने ज्येष्ठ नागरिकहरूको भनाइलाई ध्यानमा राखी वडा सरकारले बजेट विनियोजन गरि ती सम्पदा उत्खनन गर्ने कार्य अगाडी बढाइएको वडा अध्यक्ष बोहराको भनाइ छ ।

ढुङ्गालाई कुँदेर बुट्टा सहित मूर्तिको स्वरूप तयार गरि ढुङ्गाकै बिचमा पानी बग्ने गरि बनाइएका धाराहरू हेर्दा समेत आकर्षक र कलात्मक देखिने गरेको स्थानीय धनराज विकको भनाइ छ । ती धाराहरू कहिले र कसले निर्माण गरेका हुन भन्नेबारे कुनै पनि लिखित दस्ताबेज फेला भने फेला पार्न नसकिएको वडा अध्यक्ष बोहराले बताएका छन् ।

ती धाराहरूको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वबारे जानकारी लिन सम्बन्धित निकायसँग समन्वयका लागि पहल भइरहेको वडाअध्यक्ष बोहराले बताए । (रेडियो नेपाल)

Translate »