यस्तै रहेछ यहाँको चलन
मदन लम्साल /काठमाडौं । देशमा धेरै दलको गठबन्धनको सरकार छ, मन्त्री थपिएका थपियै छन् । तर पनि सरकार पूर्ण छैन । देश बिरामी छ तर वैद्यखानामा ओखतीको चूर्ण छैन । सरकारमा पुग्नेहरू धेरैजसो सडेका छन् । त्यसैले त जनताका गुनासा पनि दिनप्रतिदिन बढेका छन् ।
धारा छन्, त्यसमा पानी छैन । ह्यान्डपम्प छन् । तर ती चल्दैनन् । बिजुलीपम्प पनि छन् । तर बिजुली छैन । विभाग छन् । काम गर्दैनन् । फोन लगायो, लाग्दैन । लाग्यो, उठ्दैन । हाकिमहरू छन् । तर छुट्टीमा छन् । सहायक छन् । तर उनलाई थाहा छैन । गुनासो गरौं, सुन्ने कोही छैन । आवेदन दिइएको थियो । तर स्वीकृत भएन । रिपोर्ट लेखाइएको थियो । तर त्यसबाट केही भएन ।
योजना स्वीकृत भयो, तर बजेट स्वीकृत भएन । बजेट स्वीकृत भयो, तर पैसा स्वीकृत भएन । पदहरू छन् । तर हिजोआज खाली छन्, न्यायालयदेखि औषधालय वा विश्वविद्यालयसम्म । भरिएका ठाउँमा धेरैजसो जाली मात्रै छन् । पद बहाली भएका ठाउँमा दलका झोलेहरूकै हालीमुहाली छ ।
योग्य र जी हजुरी गर्न नजान्ने कर्मचारी सरुवा हुन्छन् । मन्त्री ठीक छन्, सचिव ठीक छैनन् । सचिव ठीक छन्, मन्त्री बेठीक छन् । दुवै ठीक भए मातहतका कर्मचारी ठीक छैनन् । मातहतका कर्मचारी ठीक भए हाकिम ठीक छैनन् । सबै ठीक भए माथिबाट आदेश आउँदैन । आदेश आयो भने सोध्छन् ‘यो काम गरेर हाम्लाई के फाइदा रु’ फाइल टेबलमै हुन्छ तर हस्ताक्षर हुँदैन । फाइल सदर गराउन धाउँदा धाउँदा हाकिम बल्लतल्ल मञ्जुर हुन्छन् । तर तबसम्म उनको त्यहाँबाट अर्को विभागमा सरुवा भैसकेको हुन्छ । बल्ल कुरा बुझ्ने अनुभवी खास हुन्छन्, त्यतिबेलासम्म उनीहरू अवकाश हुन्छन् ।
मेशिनै छैन, टेक्निसियन छन् । मेशिन आउँछ, चलाउन जान्ने हुन्नन् । किनकि मेशिन चलाउन होइन, कमिशन तह लाउन किनिएको हुन्छ । त्यसको पनि रेट हुन्छ, जुन बजेट बनाउने बेलामै सेट हुन्छ । अन्तमा मेशिन बिग्रन्छ । अनि फेरि अर्को मेशिन किन्ने प्रक्रिया शुरू हुन्छ ।
उद्योग त छन्, तर कामदार छैनन् । कामदार पाइयो भने बिजुली पाइँदैन । बिजुली आयो भने तार खराब हुन्छन् या स्विचले काम गर्दैन ।
जसोतसो उत्पादन हुन्छ, विक्री हुन्न । जसको माग छ, त्यसको आपूर्ति छैन । जसको आपूर्ति छ, त्यसको माग छैन । माग पनि भयो, सामान सप्लाई पनि भयो पेमेन्ट आउँदैन । इमेल लेख्यो वा फोन गर्यो जवाफ आउँदैन । अफिसमा भेट्न पठायो भेट पाइँदैन । गुनासो गरौं, तर कोही सुन्नेवाला कुनै निकाय छैनन् ।
यात्री लाइनमा छन्, टिकट पाइन्न । टिकट पाइयो भने सिट पाइँदैन । सवारी पाए पनि समयमा चल्दैन । सेवाका लागि अनलाइन छ, साइट खुल्दैन । साइट खुल्छ अनलाइनको टाइम हुन्न । प्रिन्टर हुन्छ, कार्ड हुन्न । कार्ड आउँछ प्रिन्टर हुन्न । जब दुवै हुन्छ, सर्भर डाउन हुन्छ ।
कर्मचारी कर्मचारी जस्ता छैनन्, मन्त्री मन्त्री जस्ता छैनन् । सरकारहरू सरकारजस्ता छैनन् । नेता छन् । नेतृत्व छैन । तैपनि भेट्न खोज्यो पाइन्न । भेट्यो सुन्दैनन् । सुने पनि मनमा केही गुन्दैनन् । शिलान्यास हुन्छ । अब केही होला कि भन्ने आश हुन्छ । तर निर्माण हुँदैन । केही निर्माण पनि हुन्छन् । तर प्रयोग नभई थोत्रिन्छन् ।
देशैभरि स्कूल छन्, तर किताब छैनन् । कलेज पनि छन् । तर त्यहाँ भनेजस्तो नलेज पाइन्न । राम्रामा सजिलै भर्ना गर्न ठाम पाइन्न । नराम्रामा पढेर काम पाइन्न । जसोतसो प्रमाणपत्र हात पर्छ, तर जागीर हात पर्दैन ।
खबर भनेर विश्वास गर्यो, अफवाह निक्लन्छन् । अफवाह ठान्यो खबर पो हुन्छ । अपराध हुन्छन्, अपराधी पत्ता लाग्दैनन् । पत्ता लाग्यो भने पनि प्रमाणित हुँदैनन् । प्रमाणित भए पनि सजिलै छुट्छन् ।
कृषकले खोजेको मल बजारमै आउँदैन । आयो भने पनि धेरैले पाउँदैनन् । किसानले बीउ पाउँदैनन्, पाएको बीउमा दाना लाग्दैनन् । दाना लागेछ भने पनि बेच्न बजार छैन । बेच्न पायो नाफा छैन । कृषिमा अनुदान छ, तर किसानले पाउँदैनन् । अनुदान पाउनेले खेतीकिसानी नै गर्दैनन् ।
हिजोआज देशमा चलचित्र धेरै बन्छन्, तर चल्दैनन् । प्रोड्युसरले दर्शक बुझ्दैनन्, दर्शकले चलचित्र बुझ्दैनन् ।
उद्योग गर्न ऋणका लागि बैंक धायो । ऋण मिलाइदिनेलाई कमिशन खिलायो । ताकेता गर्दा गर्दा जब पू्ँजी जुट्छ, त्यतिबेलासम्म सबै थोकको बढेको भाउले उद्यमीको पसिना छुट्छ । त्यति लामो समय कुरेर उद्योग गर्न योग्य रहन्न । अझ उद्योग खोल्न भन्दा जग्गा खोज्न महाभारत । बेच्नु छ, तर खरीदकर्ता भेटिन्नन् । किन्न मन छ, तर धेरै महँगो धन छ ।
मानिस त छन् । तर मनुष्यता रहेन । देश आफ्नै हो, तर देश चलाउनेहरू आफ्ना रहेनन् । त्यसैले देश त छ, तर देशमा बस्नेहरू नरहने भए । बस्न चाहनेहरू देशमा टिक्न नसक्ने भए । योग्यहरू बिक्न नसक्ने भए ।
एउटालाई बनाउन हतार छ, अर्कोलाई बिगार्न । एउटालाई टाल्न हतार छ, अर्कोलाई भत्काउन । खै के भएको हो, के नभएको हो । कस्तो अचम्मको देश बनाएको हो रु के के कता कता जेलिएको, को कता किन होला अल्झिएको रु न छेउको भेउ, न टुप्पो ।
तपाईं पनि यो भएन र त्यो भएन भनिरहनु हुन्छ नि, हैन रु तर हजुर ⁄ धेरै थोक पो छन् त देशमा । तपाईंहरूलाई थाहा छैन र रु देशमा कुराहरू हुन्छन् नै यसकारण कि त्यसमा ती कुरा हुँदैनन्, जसका लागि ती बनेका वा बनाइएका हुन्छन् । यस्तै त छ यहाँको चलन । बुझ्नुभो नि ? आर्थिक अभियान