विपद् घण्टी बजाएर आउँदैन् !
विपद् घण्टी बजाएर आउँदैन् ! मानवीय वा प्राकृतिक कारणबाट आइपर्ने आपतकालिन अवस्था, खतरा वा जोखिमको अवस्था नै विपद् हो । यो नियमित, सामान्य तथा अपेक्षित अवस्था भन्दा फरक ढङ्गले वातावरणीय पक्षमा देखापर्ने अनियन्त्रित र त्रासपूर्ण घटना हो । यो पूर्वानुमान गर्न नसकिने किसिमको हुन्छ । त्यसैले यतिबेला मनसुन शुरु हुनै लाग्दा सम्भावित जोखिम हुनसक्ने भएकाले केही स्थानीय तहले विपद् व्यवस्थापनको पूर्व तयारी शुरु गरेका छन् भने कतिपय अझै अन्यौलमा छन् । विपद्को पूर्व तयारी नगर्नेहरुले कहिले काहीं सानो गल्तीका कारण ठूलो मूल्य चुकाउनु पर्ने अवस्था आउन सक्छ । सरकारी पक्षले मात्र होइन, सबै पक्षले आ–आफ्नो स्तरबाट विपद्को पूर्व तयारीमा ढिलाई गर्नु हुँदैन् । वर्षायाम सुरु हुनै लाग्दा विपद्को सम्भाव्य जोखिम क्षेत्रमा रहेको कर्णाली प्रदेश अझ बढी चनाखो र पूर्व तयारीमा अहिले देखि नै जुट्नु पर्छ । यतिबेला जनप्रतिनिधिहरुले विपद् व्यवस्थापनमा हेलचक्राई नगरि सबै निकायको समन्वय तथा सहकार्यमा विपद् व्यवस्थापनका पूर्व तयारीसँगै कोषमा पर्याप्त रकम विनियोजन गरी आवश्यक सामग्री खरिद गर्ने, मौज्दात राख्ने र परिचालन गर्ने नीतिगत निर्णय बनाउनु पर्छ । वर्षाका कारण कतिपय स्थानीय स्तरमा भूक्षय, पहिरो, कच्ची सडक, राजमार्ग तथा अन्तरपालिका जोड्ने मार्गमासमेत क्षति हुनसक्ने भएकाले डोजर÷जेसिवी लगायतका मेसिनरी र तिनका चालक तथा ‘टास्र्क फोर्स’ लाई तयारी अवस्थामा राख्नु आवश्यक भईसक्यो ।
कर्णालीका दशै जिल्लामा बेला–बेला घटिरहने विपद्जन्य घटनाको न्यूनीकरण गरी जनधनको क्षतिलाई कम गर्नतर्फ अहिले देखि नै जुट्न पर्छ । सम्भावित विपद्जन्य जोखिम न्यूनीकरणमा सतर्कता अपनाउने कार्य, विशेष गरी गतवर्ष जोखिम देखिएका वस्ती तथा क्षेत्रहरू र यसवर्ष जोखिम हुनसक्ने सम्भावित क्षेत्र पहिचान गरी रणनीतिक कार्ययोजना बनाएर अघि बढ्नु जरुरी भईसक्यो । वर्षायाममा सबैभन्दा बढी कर्णालीको लाइफलाईन रत्नराजमार्ग, छिन्चु–जाजरकोट सडक, कर्णाली राजमार्ग, सुर्खेत–दैलेख सडक र अहिलेदेखि नै सबै भन्दा बढी दुख पाईरहेको मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेत सडकमा अहिले नै विपद् पूर्वका तयारी जारी राखिनु पर्छ । त्यहाँ नेपाली प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना, रेडक्रस, विपद्मा काम गर्ने विभिन्न संघसंस्था र पालिकाहरुलाई बढी परिचालन गरिनु पर्छ । विपद् व्यवस्थापनका लागि प्रभावकारी कार्यक्रम बनाएर मनसुनजन्य पूर्व तयारीमा उच्च जोखिमा रहेका स्थानीय नागरिकलाई समेत अहिले देखि सचेत र जागरुक बनाउन आवश्यक देखिन्छ । विपद् व्यवस्थापनका लागि रकम खर्च गर्ने कार्यविधि बनाएर ‘टाँस्क फोर्स’ टोलीलाई वर्षायामभरी प्रदेशभरी परिचालन गर्ने रणनीति कर्णाली प्रदेश सरकारले समेत बनाउन सक्नु पर्दछ । अन्याथ प्रदेश सरकार हुनुको अनुभूति दिन नसक्ने सरकार त्यो आम नागरिकको सरकार हुन सक्दैन् ।
मनसुनजन्य विपद् निकट आइसकेको हुँदा सबै चनाखो र विपद् पूर्व तयारीका लागि स्थानीय तहहरुलाई समेत विशेष अधिकारसहितको बजेट व्यवस्था गरिनु पर्छ । विपद् आईहाले व्यवस्थापनमा जनप्रतिनिधिहरुले स्वास्थ्य, सरसफाइ, खानेपानी र शिक्षामा विशेष ध्यान दिनु पर्छ । जनप्रतिनिधिहरुले आ–आफ्नो विपद् व्यवस्थापन कोषमा पर्याप्त रकम विनियोजन गरी विपद् व्यवस्थापनसम्बन्धी आवश्यक सामग्री खरिद गर्ने, मौज्दात राख्ने र परिचालन गर्ने निर्णय गर्न अब ढिलाई नगरौं । सभाव्य विपद्लाई व्यवस्थापन गर्न आवश्यक पर्ने विपद्जन्य सामग्री खरिद गरी आ–आफ्नो पालिकामा मौज्दात राख्न र आवश्यकता अनुसारका सामग्री तीनवटै सुरक्षा निकायलाई उपलब्ध गराउने निर्णय गर्नु पर्छ । जनसंख्याको अव्यवस्थित गतिशीलता, वातावरणीय परिवर्तन र प्राकृतिक स्रोत उपयोगसम्बन्धी मानवीय व्यवहार र प्रवृत्तिको परिणाम हो । ‘विपद्’ भन्नाले कुनै स्थानमा आपत्कालीन अवस्था सिर्जना भई जन वा धनको क्षतिको साथै जीवनयापन र वातावरणमा प्रतिकूल असर पार्ने प्राकृतिक वा गैरप्राकृतिक विपद् हुन सक्छ । विपद् प्राकृतिक र गैरप्राकृतिक गरी दुई प्रकारको हुन्छ । अल्पदर्शी विकास प्रयास र आधुनिक विलासितापूर्ण जीवनशैलीको उपज हो । यो विपद् संगठन वा व्यक्तिको नियन्त्रण र काबुभन्दा बाहिर तर व्यवस्थापनयोग्य हुन्छ । प्रभावित समाज वा समुदायले आफ्नै बलबुता र स्रोतसाधनको प्रयोग गरी सामनागर्न नसक्ने स्तरको त्यस्तो गम्भीर प्रकोप जन्यघटना जसबाट हुनसक्ने मानवीय, भौतिक, आर्थिक र वातावरणीय क्षतिले गर्दा सामान्य सामाजिक प्रक्रियाान व्यवधान भएको अवस्था उत्पन्न गर्दछ । त्यसैले समय नजिकै आईपुगेको छ । विना लापरवाही, ढिलासुस्ती नगरी समयमै विपद् व्यवस्थापनको पूर्व तयारीमा जुटौं ।